मध्यपुर थिमि नगर प्रमुख सुरेन्द्र श्रेष्ठ थाइल्यान्ड प्रस्थान

बैंककमा ‘२०२५ दक्षिण र दक्षिणपूर्व एशिया डिजिटल सहयोग सम्मेलन’मा सहभागी हुने

मध्यपुर थिमि, ११ भाद्र २०८२:
रत्न काजि प्रजापति

मध्यपुर थिमि नगरपालिका प्रमुख सुरेन्द्र श्रेष्ठ मित्र राष्ट्र चीनको निमन्त्रणामा थाइल्यान्डको राजधानी बैंकक प्रस्थान गर्नुभएको छ । उहाँ २०२५ दक्षिण र दक्षिणपूर्व एशिया डिजिटल सहयोग सम्मेलन तथा उद्योग–व्यापार, आपूर्ति र माग मिलान कार्यक्रम सहभागी हुन तीन दिने औपचारिक भ्रमणका लागि आज बैंकक जानुभएको हो ।

सम्मेलनमा डिजिटल प्रविधि, स्मार्ट सिटी निर्माण, उद्योग–व्यापार प्रवर्द्धन, आपूर्ति प्रणालीको आधुनिकीकरण र क्षेत्रीय सहकार्यलाई मजबुत बनाउने विषयमा छलफल हुने कार्यक्रम तय गरिएको छ ।

अगस्ट २८ तारिख दिउँसो हुने विशेष अन्तरक्रियामा युनान प्रान्तीय जन सरकारका उप–महासचिव शि योलियन, उद्योग तथा सूचना प्रविधि प्रान्तीय विभागका उप–निर्देशक, कुन्मिङ शहरको पानलोङ जिल्लाका उप–जिल्ला गभर्नर लिउ सियानचुन, मध्यपुर थिमी नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठ, हुआवेई टेक्नोलोजीज कम्पनी लिमिटेड तथा फुझाउको बुज सफ्टवेयर ग्रुपका अध्यक्ष चेन शाओहुआ सहभागी हुनेछन् ।

उक्त अवसरमा ‘डिजिटल मैत्री शहर सहयोग सम्झौता’ पहल सम्बन्धी छलफल हुने र भविष्यमा आपसी सहकार्य तथा प्राविधिक आदान–प्रदानलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ ।

नगर प्रमुख श्रेष्ठको यस भ्रमणले मध्यपुर थिमी नगरलाई अन्तर्राष्ट्रिय स्तरमा डिजिटल शहरको रूपमा विकास गर्ने दिशा तय गर्न मद्दत गर्ने विश्वास गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!