काठमाडौं , ११ भाद्र २०८२ :
स्वास्थ्य बीमा बोर्डले बीमित परिवारलाई तोकिएको समयमा बीमा नवीकरण नगरे अतिरिक्त शुल्क लाग्ने भएकाले असोज मसान्तभित्रै नवीकरण गर्न आग्रह गरेको छ।
बोर्डका अनुसार विगतमा स्वास्थ्य बीमा गरेका तर नवीकरण नगरेका सम्पूर्ण बीमितले वि.सं. २०८२ असोज मसान्त (२०८२/०६/३१) भित्र नवीकरण गरेमा एकपटकका लागि कुनै अतिरिक्त शुल्क तिर्नु नपर्ने व्यवस्था मिलाइएको छ। बीमा नवीकरण ई–सेवा, कनेक्ट–आइपीएस, खल्ती वा दर्ता सहयोगीमार्फत सहजै गर्न सकिने जनाइएको छ।
तर सो म्यादपछि नवीकरण गर्दा भने बीमितले अतिरिक्त शुल्क तिर्नुपर्नेछ। बोर्डले तोकेको विवरण यसप्रकार छः
- तीन महिनाभित्र नवीकरण गर्दा योगदान रकममा १० प्रतिशत थप
- छ महिनाभित्र नवीकरण गर्दा ३० प्रतिशत थप
- एक वर्षभित्र नवीकरण गर्दा ५० प्रतिशत थप
- एक वर्षपछि नवीकरण गर्दा १०० प्रतिशत थप
- दुई वर्षपछि नवीकरण गर्दा योगदान रकमको तीन गुणा
- तीन वर्षपछि नवीकरण गर्दा योगदान रकमको चार गुणा
बोर्डले बीमित परिवारलाई तोकिएको समयमा नै बीमा नवीकरण गरी स्वास्थ्य सुरक्षामा निरन्तरता दिन आग्रह गरेको छ।