वीरगञ्ज, ११ भाद्र २०८२ः
वीरगञ्ज भन्सार नाका हुँदै आर्थिक वर्ष २०८२/०८३ को पहिलो महिनामा (साउन) भारत तथा तेस्रो मुलुकतर्फ ८ अर्ब ४५ करोड १३ लाख रुपैयाँ मूल्य बराबरको नेपाली उत्पादन निर्यात भएको छ।
गत वर्षको यही महिनाको तुलनामा यस वर्षको निर्यातमा ठूलो वृद्धि भएको भन्सार कार्यालयले जनाएको छ। आर्थिक वर्ष २०८१/०८२ को साउनमा वीरगञ्ज नाकाबाट ३ अर्ब ५ करोड ३२ लाख रुपैयाँको मात्र उत्पादन निर्यात भएको थियो। यस वर्ष भने सोही अवधिमा १ सय ७६ प्रतिशतले बढी उत्पादन निर्यात भएको प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीले जानकारी दिनुभयो।
बढी निर्यात भटमास तेल
यस अवधिमा सबैभन्दा धेरै भटमासको प्रशोधित तेल निर्यात भएको छ। एक महिनामै भारततर्फ ४ अर्ब ५७ करोड रुपैयाँ बराबरको भटमास तेल पठाइएको तथ्याङ्कमा उल्लेख छ। त्यसैगरी ४३ करोड ७४ लाख रुपैयाँ बराबरको फलफूलको जुस तथा जाम पनि भारत निर्यात गरिएको छ।
यस्तै, ५७ करोड ५१ लाख रुपैयाँ बराबरको सूर्यमुखी प्रशोधित तेल, ३९ करोड ९५ लाख बराबरको प्रशोधित पाम तेल, ३२ करोड २८ लाख बराबरको कपडा तथा १९ करोड ५५ लाख रुपैयाँ बराबरको फलाम तथा फलामका सामग्री निर्यात भएका छन्।
विविध उत्पादन निर्यात
वीरगञ्ज भन्सार कार्यालयको तथ्याङ्कअनुसार साउन महिनामा २२ करोड ५४ लाख बराबरको सेन्थेटिक यार्न, १६ करोड ५४ लाख बराबरको पशु आहारको कच्चा पदार्थ, १४ करोड बराबरका सवारीसाधन, मेसिनरी तथा पाटपुर्जा, १४ करोड ८९ लाख बराबरका आयुर्वेदिक औषधि, र ४ करोड ५७ लाख बराबरको कुकुर तथा बिरालोको खाना समेत भारत र तेस्रो मुलुकमा निर्यात भएको छ।
त्यसैगरी मनोरञ्जनका सामान, स्पोर्ट सुज, दन्तमञ्जन, रेसाको कपडा, स्टिलका भाडाकुडा, सि.आर.सिट, जीआई पाइप लगायतका वस्तुहरू पनि वीरगञ्ज नाकाबाट निर्यात भएका छन्।
प्रमुख भन्सार प्रशासक ज्ञवालीका अनुसार यसपालिको साउन महिनामा निर्यात बढ्नु नेपाली उत्पादनले अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धात्मक स्थान बनाउन थालेको सूचक हो।