मासु लगायत कृषिवस्तु निर्यातका लागि नेपालको चीनसँग आग्रह

काठमाडौं, १३ भाद्र २०८२ः

नेपालले चीनतर्फ राँगाको मासु, दुग्ध पदार्थ, तरकारी, फलफूल तथा जडीबुटी निर्यात गर्न सहज वातावरण बनाउन चीन सरकारसँग आग्रह गरेको छ।

बिहीवार काठमाडौंमा सम्पन्न नेपाल–चीन द्विपक्षीय बैठकमा नेपालको तर्फबाट कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारी र चीनको भन्सार प्रशासनका उपमन्त्री वाङ लिङजुनबीच छलफल भएको थियो। बैठकमा नेपालले थर्मलरूपमा प्रशोधित राँगाको मासु, भैंसीको कार्टीलेज (कुरकुरे हाड), घ्यु, नौनी, वटर, छुर्पी लगायतका दुग्धजन्य पदार्थ चीन निर्यातका लागि पहल गर्न जोड दिएको छ। साथै, हेलेज–साइलेज जस्ता पशु आहार, कुखुराको मासु र पञ्जा, तरकारी, सुन्तलाजन्य फलफूल, चिया, कफी तथा जडीबुटी निर्यातमा समेत सहजीकरण गरिदिन आग्रह गरिएको छ।

हाल नेपालबाट ३४ प्रकारका कृषि वस्तु ६१ वटा कम्पनीमार्फत चीन निर्यात हुँदै आएको छ भने हरियो घाँस हेलेज ५ वटा कम्पनीमार्फत चीन पुगीरहेको छ।

चीनका उपमन्त्री वाङले नेपाललाई छिमेकी मुलुकको नाताले प्राथमिकता दिने उल्लेख गर्दै कृषि वस्तु निर्यातमा सहजीकरणका लागि चीन तयार रहेको जानकारी दिनुभयो। उहाँले भन्नुभयो, “एक सयभन्दा बढी देशले यस्ता प्रस्ताव गर्ने गरेका छन्, तर छिमेकी मुलुकको हैसियतले हामी नेपाललाई विशेष महत्वका साथ लिन्छौं। दुवै देशको संयुक्त प्रयासमा सहजीकरण सम्भव हुन्छ।”

बैठकमा मन्त्री अधिकारीले नेपालबाट मासु निर्यातका लागि खोरेत मुक्त क्षेत्र घोषणा गर्ने लगायतका प्रक्रिया अगाडि बढाइएको र चीनको क्वारेन्टाइन मापदण्ड पूरा गर्ने तयारी भइरहेको जानकारी गराउनुभयो। साथै, सुन्तलाजन्य फलफूल निर्यातका केही सर्तमा लचकता अपनाइदिन आग्रह पनि गर्नुभयो।

दुवै मुलुकबीचको सहमतिक्रममा नेपालले प्रस्ताव गरेको “संयुक्त संरचना” स्थापना गरी कृषि उपज निर्यातमा सहजीकरण गर्ने विषयमा चिनियाँ पक्षले सकारात्मक प्रतिक्रिया दिएको मन्त्रालयले जनाएको छ।

बैठकमा नेपालतर्फबाट सचिवद्वय डा. गोविन्द प्रसाद शर्मा, डा. दीपककुमार खराल र सहसचिवहरु सहभागी थिए भने चीनतर्फबाट भन्सार प्रशासनका उच्च अधिकारीहरू उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!