प्रमुख जिल्ला अधिकारीले ललितपुरमा पहिचान गरेको प्राथमिकताको क्षेत्र

ललितपुर, १५ भाद्र २०८२ः
कृष्ण किसि

ललितपुरका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले सेवाप्रवाहलाई सहज बनाउन, शान्ति–सुरक्षाको व्यवस्थापन, समुदायसँग संवाद र समन्वय गर्दै विकास निर्माणमा सहजीकरण तथा विपद् व्यवस्थापनलाई आफ्नो प्रमुख प्राथमिकता बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

आइतबार जिल्ला प्रशासन कार्यालयमा सञ्चारकर्मीहरूसँगको कुराकानीका क्रममा उहाँले ललितपुरको जात्रा, पर्व र मौलिक परम्परागत संस्कृतिलाई आत्मसात गर्दै पुरातात्विक स्थल, पोखरी र गुठी जग्गा संरक्षणमा विशेष ध्यान दिने योजना रहेको जानकारी दिनुभयो । उहाँले राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवामा सोधपुछलाई सहज बनाइएको उल्लेख गर्दै प्रशासनबाट हुने सेवाप्रवाहलाई थप चुस्त र प्रभावकारी बनाउन प्रतिबद्धता जनाउनुभयो । कार्यक्रममा सञ्चारकर्मीहरूले सूचना प्रवाहलाई व्यवस्थित बनाउनुपर्ने, ललितपुरको सांस्कृतिक संवेदनशीलता, शान्तिसुरक्षासम्बन्धी चुनौती, लागुऔषध दुव्र्यसन नियन्त्रण, अव्यवस्थित बजार व्यवस्थापन र पाकेटमार समस्याका विषयमा सुझाव दिएका थिए ।

नेवाः पत्रकार राष्ट्रिय दबूका वरिष्ठ उपाध्यक्ष सुनील महर्जनले प्रशासनले नियमित दायित्वका अतिरिक्त संस्कृति, सम्पदा संरक्षणमा अग्रसर हुनुपर्नेमा जोड दिनुभयो भने नेपाल आदिवासी जनजाति पत्रकार महासंघका सचिव समेत रहेका महर्जनले मातृभाषामा काम गर्ने पत्रकारलाई समेत समेट्नुपर्ने धारणा राख्नुभयो ।

सम्पदा नेपाल टेलिभिजनका प्रमुख विश्वन्तर शाक्यले गुठी जग्गा संरक्षणमा प्रशासनको सशक्त भूमिका हुनुपर्ने औंल्याउनुभयो भने दबू ललितपुर शाखाका सदस्य सनि शाक्यले लागुऔषध दुव्र्यसन र शान्तिसुरक्षाका चुनौतीबारे ध्यानाकर्षण गर्नुभयो ।

नेपालमण्डल टेलिभिजनका रामराजा बज्राचार्य र सञ्चारकर्मी हर्कबहादुर श्रेष्ठले अव्यवस्थित बजार र पाकेटमार समस्या तत्काल समाधान गर्नुपर्ने माग राख्नुभयो ।

गृह मन्त्रालयको भदौ ४ गतेको निर्णयअनुसार धादिङका प्रमुख जिल्ला अधिकारी रहनुभएका घिमिरेले भदौ ५ गतेदेखि ललितपुरको प्रजिअको जिम्मेवारी सम्हाल्नुभएको हो । २५ वर्षअघि निजामती सेवामा प्रवेश गर्नुभएका उहाँ यसअघि पनि विभिन्न जिम्मेवारीमा रही काम गर्नुभएको थियो । सो अवसरमा सहायक प्रमुख जिल्ला अधिकारी गीता घिमिरेको पनि उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!