नुवाकोट, १८ भाद्र २०८२ः
नुवाकोट जिल्लाको सूर्यगढी गाउँपालिका–१ अन्तर्गत बुलबुले, काउले र सेम्राङका पहिरो प्रभावित बस्तीहरूमा वाईसीयल नेपालले राहत वितरण तथा श्रमदान कार्यक्रम सम्पन्न गरेको छ।
कार्यक्रममा संघीय सांसद माननीय हितबहादुर तामाङ, नेकपा (माओवादी केन्द्र) का नेता–कार्यकर्ता, वाईसीयल नेपालका केन्द्रीय अध्यक्ष पुष्प ओली, बागमती प्रदेश अध्यक्ष नरेश रञ्जित, नुवाकोट जिल्ला अध्यक्ष जलन गजुरेलसहितका पदाधिकारीहरूको उपस्थिति रहेको थियो। साथै स्थानीय वडाध्यक्ष, राजनीतिक दलका प्रतिनिधि तथा स्थानीयवासीको समेत सक्रिय सहभागिता देखिएको थियो।
राहतस्वरूप प्रभावित परिवारलाई त्रिपाल, खानेपानी जार, लत्ता–कपडा, ब्ल्याङ्केट, म्याट्रेसलगायतका सामग्रीसहित नगद एक लाख रुपैयाँ हस्तान्तरण गरिएको आयोजकले जानकारी दिएको छ।
यसबाहेक, पहिरोका कारण बस्तीहरूबीचको आवतजावतमा समस्या भएपछि वाईसीयल नेपालको नेतृत्वमा श्रमदानमार्फत गोरेटो बाटो निर्माण गरिएको छ। उक्त बाटो निर्माणपछि स्थानीयहरूलाई आवागमनमा सहज हुने अपेक्षा गरिएको छ।