काठमाडौं, २४ भदौ २०८२ः
रत्न काजि प्रजापति
हालै Gen-Z युवा समूहद्वारा आयोजना गरिएको आन्दोलनका क्रममा देशका विभिन्न शहरसहित काठमाडौंमा भएको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा युवाको ज्यान गुमाएको घटनाप्रति नेपाल भेटेरिनरी एशोसिएसन (NVA) ले गहिरो दुःख व्यक्त गर्दै गम्भीर ध्यानाकर्षण गराएको छ।
संघले मंगलबार जारी गरेको विज्ञप्तिमा निर्दोष नागरिकमाथि राज्यद्वारा गरिएको बल प्रयोग मानव अधिकारविरुद्ध भएको उल्लेख गर्दै घटनाप्रति गम्भीर चिन्ता प्रकट गरेको छ।
एशोसिएसनले ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ। साथै पीडित परिवारसँग एकात्मता प्रकट गर्दै सहानुभूति व्यक्त गरिएको छ।
एशोसिएसनका केन्द्रिय अध्यक्ष डा. केदार सुबेदीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “देशमा सुशासन र जवाफदेहिताको माग गर्दै सडकमा उत्रिएका युवाहरुको निर्मम र बर्बर दमनप्रति नेपाल भेटेरिनरी एशोसिएसन घोर आपत्ति प्रकट गर्दछ। Gen-Z पुस्ताले अघि सारेका न्यायसहितका मागलाई सरकार र सम्बन्धित पक्षले संवादमार्फत सम्बोधन गर्नुपर्छ।”
संघले आगामी दिनमा यस्ता घटनाको पुनरावृत्ति रोक्न तथा नागरिकको जीवन सुरक्षाको ग्यारेन्टी गर्न सरकारलाई तत्काल कदम चाल्न आग्रह गरेको छ।