काठमाडौँ, २६ भाद्र २०८२ः
पछिल्लो सुरक्षा परिस्थितिको विश्लेषणका आधारमा नागरिकको जनधनको सुरक्षाका लागि भन्दै काठमाडौँ उपत्यकामा निषेधाज्ञा तथा कर्फ्यु निरन्तरता दिइएको छ ।
नेपाली सेनाले आज विज्ञप्तिमार्फत निषेधाज्ञा तथा कर्फ्यु आदेशलाई निरन्तरता दिनुपर्ने आवश्यकता देखिएको उल्लेख गर्दै काठमाडौँ, ललितपुर र भक्तपुरका जिल्ला सुरक्षा समितिहरूबाट सो व्यवस्था गरिएको जनाएको छ । जारी विज्ञप्तिमा भदौ २७ गते बिहान ११ बजेदेखि बेलुकी ५ बजेसम्म निषेधाज्ञा र भदौ २७ गते बेलुकी ७ बजेदेखि भदौ २८ गते बिहान ६ बजेसम्म कर्फ्युलाई निरन्तरता दिइएको उल्लेख छ ।
यसैगरी अत्यावश्यक कार्यको लागि आवतजावत गर्न भदौ २७ गते बिहान ६ बजेदेखि ११ बजेसम्म र बेलुकी ५ बजेदेखि ७ बजेसम्म निर्धारण गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । निषेधाज्ञा तथा कर्फ्युको दौरान समेत अत्यावश्यक सेवाका (एम्बुलेन्स, शव वाहन, दमकल, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीका साथै, खाद्यान्न, ग्यासलगायतको इन्धन, दूध, तरकारी, पानी, सञ्चार प्रदायक कम्पनी र औषधि ओसारपसार गर्ने) सवारी साधनहरू सञ्चालन गर्न सकिनेछ । विभिन्न सरकारी कार्यालय, राष्ट्रिय मानव अधिकार आयोगका पदाधिकारी, बैङ्क तथा वित्तीय संस्थालगायतका सार्वजनिक संस्थानहरूमा कार्यरत कर्मचारीहरूले आफ्नो सक्कल परिचय पत्र (डिजिटल बाहेक) देखाई कार्यालयसम्म आवतजावत गर्न सकिने विज्ञप्तिमा जनाइएको छ ।
यस्तै आन्तरिक र अन्तर्राष्ट्रिय उडानका यात्रुहरूले आफ्नो उडानको टिकट देखाई विमानस्थलसम्म आवतजावत गर्न सक्नेछन् भने आवश्यक सहजताका लागि नजिकमा रहेका सुरक्षाकर्मीहरूसँग समन्वय गर्न सेनाले सबैमा अनुरोध गरेको छ ।
काठमाडौँ उपत्यका बाहिरको हकमा सम्बन्धित जिल्लाको सुरक्षा परिस्थितिअनुरूप जिल्ला सुरक्षा समितिबाट निर्णय र समन्वय गरिएबमोजिम हुने उल्लेख छ । जस्तोसुकै परिस्थितिमा पनि आम नेपालीहरूको सुरक्षा र मानवीय उद्धारमा प्रतिबद्ध रही जिम्मेवारी निर्वाहमा सक्रिय सुरक्षाकर्मीहरूलाई सहयोग पुर्याउन सबैमा अपिल गरिएको छ ।
अत्यावश्यक कार्यका लागि आवतजावत गर्न सकिने भनी छुट्याइएको समय अत्यावश्यक सामग्री किनमेल एवं धार्मिक–सांस्कृतिक परम्परा अवलम्बनका लागि हिँडडुल गर्न, कर्मचारीहरू आफ्नो कार्यस्थलसम्म जान र फर्कनलगायतका जरुरी कामका लागि भएकाले उक्त समयमा समेत जुलुस, धर्ना, प्रदर्शनलगायतका गतिविधिहरू गर्न पूर्णतः निषेध गरिएको विज्ञप्तिमा उल्लेख छ ।