काठमाडौँ, २८ असोज २०८२ः
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बोतल र जारको पानीमा तोकिएको शुल्कभन्दा बढी रकम असुल गरे कारबाही गरिने चेतावनी दिएको छ।
विभागले मंगलबार एक सूचना जारी गर्दै दैनिक उपभोग्य वस्तुका रूपमा प्रयोग हुँदै आएको प्लास्टिकका बोतल र जारको पानीका लागि मूल्य निर्धारण गरिएको र सो भन्दा बढी रकम लिने व्यवसायीलाई कानूनी कारबाही गरिने जनाएको हो।
निर्धारित मूल्य अनुसार, काठमाडौँ उपत्यकामा एक लिटर बोतलको पानीको मूल्य रु १६ र उपत्यका बाहिर रु २० तोकिएको छ। त्यस्तै, २० लिटरको जार पानी काठमाडौँ उपत्यकामा रु ४७ र उपत्यका बाहिर रु ६० निर्धारण गरिएको छ। यसअघि व्यवसायीहरूले मनपरी दरमा बोतल र जारको पानी बिक्री गर्दै आएका भन्दै विभागले यसरी तोकिएको मूल्य लागू गर्न निर्देशन दिएको हो।
विभागले भनिएको छ, “तोकिएको भन्दा बढी दरमा बोतल वा जारको पानी बिक्री वा वितरण गरेको पाइएमा उपभोक्ता हित संरक्षण ऐन, २०७५ तथा नियमावली, २०७६ अनुसार आवश्यक कारबाही गरिनेछ।” त्यस्तै, विभागले उपभोक्तालाई पनि यस्तो अनियमितता देखिएमा नजिकको उपभोक्ता संरक्षण कार्यालय वा विभागमा जानकारी दिन आग्रह गरेको छ।