तिलिचो घुम्न गएका १३ जना अझै बेसक्याम्पमा नै अलपत्र, उद्दारका लागि आग्रह

धादिङ, १३ कार्तिक २०८२ः

मनाङ्गको तिलिचो घुम्न गएका धादिङ नीलकण्ठ नगरपालिकाका ९ जनासहित १३ जना नेपाली र दुई जना चिनियाँ नागरिक बेसक्याम्पमै रोकिएका छन् । रोकिएका नेपालीमध्ये एक जनाको खुट्टामा समस्या देखिएकाले उनी तल फर्किन नसकेको प्रहरीले जनाएको छ ।

निरन्तर हिमपातका कारण बाटो अवरुद्ध हुँदा उनीहरू फर्किन नसकेको जिल्ला प्रहरी कार्यालय मनाङका प्रमुख डीएसपी हरि पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार सबै जना हाल सुरक्षित रहेका छन् ।

रोकिएका मध्य धादिङको गंगाजमुना गाउँपालिका-५ का रेशु अधिकारीले आफ्नो १० वर्षीय छोरासहित एउटै पालिकाका नौ जना बेसक्याम्पमै रोकिएको बताए । ‘सानो बच्चा र बाक्लो हिउँका कारण तल झर्न नसकिएको अधिकारीले बताएका छन् ।

अधिकारीका अनुसार उनीहरू सोमबार साँझ तिलिचो ताल पुगेर फर्किने क्रममा हिमपात सुरु भएपछि बेसक्याम्पमै रोकिएका हुन् । ‘सानो बच्चा छ, खाङसारबाट आउँदा नौ घण्टा लाग्यो । फर्किँदा त १५ घण्टा लाग्छ ।

यस्तो अवस्थामा कसरी जानु र?’ उनले भने, ‘सञ्चार सम्पर्कमा पनि कठिनाइ भइरहेको छ । उनीहरुले सरकारसँग आफुलाई उद्दार गरी सुरक्षित स्थानमा ल्याइदिनका लागि आग्रहसमेत गरेका छन् ।

Source; gorakhapatra

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!