हाल रिक्त रहेका ११ देशमा कुनै राजदूत नियुक्त हुँदैन : मन्त्री खरेल

काठमाडौँ , १३ कार्तिक २०८२ः

सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदिश खरेलले हाल रिक्त रहेका ११ मुलुकका लागि कुनै राजदूत नियुक्त नगर्ने बताउनुभएको छ ।

हिजो बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गर्न आज सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सञ्चारकर्मीको जिज्ञासाको जवाफ दिनुहुँदै मन्त्री खरेलले सरकारले विभिन्न मुलुकमा कार्यरत राजदूतहरूको कार्य प्रभावकारिता, पारदर्शिता र निर्वाह गरिएको भूमिका मूल्याङ्कनको आधारमा ११ मुलुकका राजदूतहरू फिर्ता बोलाएको प्रस्ट्याउनु भयो ।

यस्तै मन्त्री खरेलले हाल रिक्त रहेको स्थानमा थप राजदूत नियुक्त नगर्ने र सम्बन्धित देशमा कार्यरत दोस्रो तहका कर्मचारीहरू मार्फत यथावत् रुपमा कामकारबाही सञ्चालन गर्नेगरी सरकारले निर्णय लिएको पनि बताउनुभयो ।

यस्तै हिजो बसेको मन्त्रिपरिषद् बैठकले वैदेशिक रोजगार सेवा, अदालतका मुद्दा व्यवस्थासम्बन्धी लगायतका विभिन्न सेवाहरूमा विद्युतीय प्रणालीमार्फत राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीमा रहेको तथ्याङ्कमा पहुँच उपलब्ध गराउने निर्णय गरेको छ ।

बैठकले वैदेशिक अध्ययन अनुमति सेवा, स्थानीय तहको पञ्जिकरण, नागरिकता, सामाजिक सुरक्षा, राहत तथा विपद् व्यवस्था, अध्यागमन सेवा र बन्दीको पहिचान, प्रमाणीकरण तथा बन्दीहरूको विवरणसम्बन्धी राष्ट्रिय परिचय सूचना प्रणालीमा पहुँच उपलब्ध गराउन सक्नेगरी क्षेत्र तोक्ने निर्णय गरेको मन्त्री खरेलले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!