काठमाडौँ महानगरमा ४ हजार सामुदायिक कुकुरको बन्ध्याकरण सुरु

काठमाडौँ, १४ कार्तिक २०८२ः

काठमाडौँ महानगरपालिकाले ४ हजार सामुदायिक कुकुरको बन्ध्याकरण कार्यक्रम सुरु गरेको छ। कुकुरको जनसंख्या नियन्त्रण र स्वास्थ्य सुधारका उद्देश्यसहित महानगरले पाँचवटा संघ–संस्थासँग सम्झौता गरेर रेबिजविरुद्धको खोप अभियान पनि अघि बढाएको हो।

महानगरको कृषि तथा पशुपंक्षी विभागका प्रमुख नुरनिधि न्यौपानेका अनुसार पहिलो चरणमा करिब एक करोड रुपियाँ खर्चेर बन्ध्याकरण गरिँदैछ। “यो धर्ती कुकुरहरूको पनि हो, महानगर कुकुरहरूको अभिभावक बन्न प्रयास गर्दैछ,” न्यौपानेले बताउनुभयो।

सम्झौताअनुसार हरेक संघसंस्थाले वडाका जनप्रतिनिधिको रोहबरमा बन्ध्याकरण र खोप कार्य गर्नेछन्। बन्ध्याकरणपछि कुकुरलाई इयर–नोट्च र हरियो चिन्ह लगाइनेछ, र तीन महिनासम्म स्वास्थ्य निगरानी पनि गरिनेछ। यदि काम नगरी दाबी प्रमाणित भएमा प्रति जनावर एक लाख रुपैयाँ जरिवाना र सम्झौता रद्द हुने व्यवस्था छ।

गत वर्ष ५ हजार ५ सय कुकुर र बिरालोको बन्ध्याकरण र १६ हजारभन्दा बढी जनावरमा रेबिजविरुद्धको खोप लगाइएको थियो। काठमाडौँ महानगरले वर्षेनी यस्ता अभियानमार्फत सहरलाई स्वस्थ, स्वच्छ र पशुप्रेमी राजधानी बनाउन लक्ष्य लिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!