म्याग्दीमा उच्च हिमाली क्षेत्रका पदयात्रा रोक, मौसम सुधार नहुँदासम्म नजान आग्रह

म्याग्दी, १४ कार्तिक २०८२ः

जिल्ला प्रशासन कार्यालय म्याग्दीले लगातारको वर्षा र हिमपातका कारण उच्च हिमाली क्षेत्रका पदयात्रा अस्थायी रूपमा रोक्न अनुरोध गरेको छ।

यसअघि शुक्रबारसम्मका लागि पदयात्रा रोकिएको भए पनि मौसम अझै सामान्य नहुँदा आगामी कात्तिक १७ गते सोमबारसम्म पदयात्रामा नजान आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी (प्रजिअ) बद्रीप्रसाद तिवारीले जानकारी दिनुभयो।

प्रजिअ तिवारीका अनुसार जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानअनुसार गण्डकी प्रदेशमा मध्यमदेखि भारी वर्षा र हिमपातको सम्भावना रहेकाले उच्च हिमाली क्षेत्रमा यात्रा जोखिमपूर्ण हुने देखिएको हो।

जिल्ला प्रशासन कार्यालयले विशेष रूपमा अन्नपूर्ण गाउँपालिका–४ नारच्याङस्थित अन्नपूर्ण हिमाल आधार शिविर, खोप्रो हुँदै खयरलेक र पुनहिल लगायतका पर्यटकीय स्थलतर्फ हालका दिनमा नजान पदयात्रीलाई अनुरोध गरेको छ।

वर्षा र हिमपातका कारण हुन सक्ने सम्भावित दुर्घटनालाई मध्यनजर गर्दै सुरक्षा निकायहरूलाई उच्च सतर्क अवस्थामा राखिएको तिवारीले बताए।

प्रशासनले विपद्जन्य घटना हुनसक्ने भन्दै सबै नागरिकलाई सचेत रहन आग्रह गर्दै, कुनै घटना घटेमा सम्बन्धित स्थानीय तह, जनप्रतिनिधि वा नजिकको प्रहरी इकाइमा तत्काल सम्पर्क गर्न अनुरोध गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!