मुस्ताङ–मनाङ जोड्ने सरिबुङ पासमा १४ जना पदयात्री सम्पर्कविहीन

मुस्ताङ, १४ कार्तिक २०८२ः

मुस्ताङ र मनाङ जोड्ने प्रसिद्ध पर्यटकीय पदमार्ग सरिबुङ पास गएका १४ जना पदयात्री तीन दिनदेखि सम्पर्कविहीन भएका छन्।

लोघेकर दामोदरकुण्ड–४ याराबाट दामोदरकुण्ड हुँदै सरिबुङ पास पार गरेर मनाङको फू गाउँ पुग्ने क्रममा ती पदयात्रीहरू मङ्गलबारदेखि सम्पर्कविहीन भएका हुन्। हिमपातका कारण टोलीसँग सम्पर्क टुटेको बताइएकाे छ।

सम्पर्कविहीन मध्ये तीन जना अष्ट्रियन नागरिक र ११ जना नेपाली पथप्रदर्शक रहेका छन्। मुस्ताङका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) विष्णुप्रसाद भुसालका अनुसार उनीहरू बिहीबार साँझदेखि सम्पर्कमा छैनन्।

तिब्बतसँग सीमा जोडिएको दामोदरकुण्ड क्षेत्रको सरिबुङ पास समुन्द्री सतहदेखि करिब ६ हजार मिटर उचाइमा रहेको अत्यन्तै कठिन हिमाली भूभाग हो। सो क्षेत्रमा पछिल्ला दिनमा लगातार हिमपात भइरहेकाले सम्पर्कविहीन टोली जोखिममा पर्न सक्ने आशंका गरिएको छ।

प्रजिअ भुसालले भने, “हामीले अनुमान गरेका छौं कि ती पदयात्रीहरू दामोदरकुण्डस्थित तीर्थयात्री धर्मशालामा सुरक्षित हुनसक्छन्। त्यहाँ खाने, बस्ने र अत्यावश्यक सामग्री व्यवस्थित छन्, त्यसैले तत्काल ठूलो समस्या नहोला।”

सम्पर्कविहीन टोलीको ठेगाना पत्ता लाग्नेबित्तिकै उद्धारका लागि हेलिकप्टर पठाउने तयारी भइरहेको मुस्ताङ प्रशासनले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!