राष्ट्रिय परिचयपत्रमार्फत अब अनलाइनमै मतदाता नामावली दर्ता गर्न सकिने

काठमाडौं, २७ कर्तिक २०८२ः

अब नागरिकहरूले राष्ट्रिय परिचयपत्रमार्फत आफ्नै विवरण भरी अनलाइन प्रणालीबाटै मतदाता नामावलीमा नाम दर्ता गर्न सक्ने भएका छन्।

प्रधानमन्त्री सुशीला कार्कीले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै, निर्वाचन आयोगले नयाँ प्रणाली सुरु गरेसँगै अब नागरिकले कार्यालय धाउनुपर्ने झन्झट समाप्त भएको बताउनुभएको छ।

नयाँ व्यवस्थाअनुसार, राष्ट्रिय परिचयपत्र भएका नागरिकले निर्वाचन आयोगको वेबसाइटमा प्रि–रजिष्ट्रेशन फारम भरेपछि बायोमेट्रिकका लागि कार्यालय जानुपर्ने बाध्यता हटेको छ। यो प्रणालीले मतदाता दर्ता प्रक्रिया चार चरणमा सम्पन्न गर्नेछ।

पहिलो चरणमा, राष्ट्रिय परिचयपत्रको विवरण मिलान गरी मतदाता परिचयपत्रसँग जोड्ने प्रक्रिया सुरु हुनेछ। दोस्रो चरणमा, विवरण पुनः परीक्षण गरी त्रुटि भए सच्याउने व्यवस्था गरिएको छ। तेस्रो चरणमा, नागरिकले आफ्नो मतदान स्थल छनोट गर्न सक्नेछन्। साथै, नयाँ बसोबास वा विवाहका कारण ठेगाना परिवर्तन भए आवश्यक कागजात अपलोड गर्ने सुविधा पनि हुनेछ। चौथो तथा अन्तिम चरणमा, सबै विवरण अन्तिम पटक पुष्टि गरी फारम अनलाइनमार्फत पेस गरेपछि मतदाता नामावली दर्ता प्रक्रिया पूरा हुनेछ।

सरकारले यो प्रणालीमार्फत सेवा सरल, पारदर्शी र प्रविधिमैत्री बनाउने लक्ष्य राखेको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!