काठमाडौं, २७ कार्तिक २०८२ः
नेपाल औषधि व्यवसायी संघ केन्द्रीय कार्यालयले हालै नेपाल राजपत्रमा प्रकाशित औषधी ऐन, २०३५ का केही उपदफाहरूले व्यवसायमा सिर्जना गरेको गम्भीर संकटका विषयमा छलफल गर्न संघर्ष समितिको बैठक आह्वान गरेको छ।
संघले जारी गरेको सूचना अनुसार भोलि कार्तिक २८ गते शुक्रबार दिउँसो ४ बजे, एल्लो प्यागोडा होटल, जमलमा संघर्ष समितिको बैठक बस्नेछ। उक्त बैठकमा नेपाल पशुपंक्षी औषधी व्यवसायी संघ, नेपाल आयुर्वेदिक औषधी व्यवसायी संघ लगायतका सम्बन्धित संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूको उपस्थितिका लागि हार्दिक अनुरोध गरिएको छ।
सूचनामा उल्लेख भए अनुसार, औषधी ऐन, २०३५ को दफा ११ का विभिन्न उपदफाहरूले औषधि व्यवसायमा “गम्भीर व्यावसायिक संकट र दुर्घटना” निम्त्याउने सम्भावना देखिएको भन्दै संघले यसलाई अत्यन्तै गम्भीरतापूर्वक लिएको जनाएको छ। संघका अनुसार, वर्तमान अवस्थामा ती उपदफाहरूको तत्काल खारेजी बाहेक अन्य विकल्प छैन।
“व्यावसायिक अधिकार र अस्तित्वको प्रश्नमा अब निर्णायक कदम चाल्नुपर्ने अवस्था आएको छ।” संघर्ष समितिका संयोजक श्रीधर खनालद्वारा जारी गरिएको सूचनामा उल्लेख छन् I उनका अनुसार बैठकले आगामी दिनमा हुने संघर्षको स्वरूप (Nature of Protest), समयतालिका, र रणनीति तय गर्नेछ।