नवलपुर, १५ मंसिर २०८२ः
मध्यबिन्दु नगरपालिका–९ अमलटाडीमा ग्लोबल ह्याचरी प्रा.लि. नवलपुरको आयोजनामा र भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) को प्राविधिक सहयोगमा शुक्रबार एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ।

शिविरमा पुरानो मेडिकल कलेजका वरिष्ठ डायबेटोलोजिस्ट डा. बरुण दाम्ले, डा. पेशल आचार्य, डा. सुश्मा घिमिरे, डा. कल्याण आचार्य, डा. पवन कुमार साह, डा. प्रकाशचन्द्र साह, डा. अनु जयसवाल, डा. बन्दना रिमाल, डा. कृशा श्रेष्ठ तथा अन्य विशेषज्ञहरू—डायबेटोलोजी, जनरल फिजिसियन, अर्थोपेडिक्स, ईएनटी, स्त्रीरोग तथा प्रसूति, र दन्त विभागका चिकित्सकहरूले सेवा प्रदान गरेका थिए।

आयोजक संस्थाका एक सयभन्दा बढी कर्मचारीको स्वास्थ्य परीक्षण गरिएको ग्लोबल ह्याचरीका निर्देशक रामकुमार चौहानले जानकारी दिए। कार्यक्रम सञ्चालन तथा समन्वय प्रशासक सुभाना पोखरेलले गरेका थिए।

उद्घाटन सत्रमा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त डा. मोहन डायबिटिज स्पेसियलिटी सेन्टर भारतमा लामो अनुभव हासिल गरेका वरिष्ठ डायबेटोलोजिस्ट डा. बरुण दाम्ले तथा डा. पेशल आचार्यले मधुमेहका लक्षण, सावधानी, उपचार विधि र सम्भावित जोखिमबारे अन्तरक्रिया गरेका थिए।
सो अवसरमा शिविरमा मधुमेह पहिचान भएका बिरामीलाई पुरानो मेडिकल कलेजमा विशेष सहुलियतमा उपचार उपलब्ध गराइने जानकारी अस्पतालका बजार प्रबन्धक दुर्गा प्रसाद न्यौपानेले दिए।