काठमाडौँ, २३ मंसिर २०८२ ।
सरकारले आगामी बुधबारदेखि देशभर तीन महिने ‘मानसिक स्वास्थ्य सचेतना अभियान’ सञ्चालन गर्ने भएको छ। राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले आज काठमाडौँमा पत्रकार सम्मेलन गरी फागुन ३० गतेसम्म अभियान सञ्चालन हुने जानकारी दिएको हो।
केन्द्रकी निर्देशक डा. राधिका थपलियाले पछिल्लो समय सबै तह–तप्कामा तनाव बढ्दै गएपछि मानसिक स्वास्थ्यबारे खुला संवाद र सचेतना आवश्यक भएको बताइन्। “मानसिक स्वास्थ्यबारे सबैले खुलेर कुरा गरौँ, अभियानबाट लाभान्वित होऔँ,” उहाँले भनिन्। उहाँले ‘जेनजी’ प्रदर्शनपछि देखिएको तनावसमेत अभियानले कम गर्न सहयोग पुर्याउने विश्वास व्यक्त गरिन्।
यसैगरी केन्द्रका वरिष्ठ जनस्वास्थ्य प्रशासक उपेन्द्र ढुङ्गानाले मानसिक स्वास्थ्यलाई समग्र स्वास्थ्यको अभिन्न हिस्सा मान्दै प्रत्येक महिनामा फरक विषयमा जनचेतनामूलक कार्यक्रम सञ्चालन हुने जानकारी दिए।
कार्यक्रममा विश्व स्वास्थ्य सङ्गठनका मनोचिकित्सक डा. केदार मरहट्टाले नेपालमा प्रत्येक १० जनामध्ये एक जनाले कुनै न कुनै प्रकारको मानसिक स्वास्थ्य समस्या भोगिरहेको भन्दै यसलाई गम्भीर जनस्वास्थ्य चुनौतीका रूपमा लिनुपर्ने बताए।
नेपाल प्रहरीका तथ्याङ्कअनुसार आव २०८१/८२ मा मात्र सात हजार ५५ जनाले मानसिक समस्याका कारण आत्महत्या गरेको तथ्य प्रस्तुत गरिएको थियो।