दोष बजारमा होइन, उत्पादनको सत्यता जाँच्ने समय
शम्भु पौडेल, सार्थक भेट फर्मा
नेपालको पशुपन्क्षी व्यवसाय अहिले एक जटिल मोडमा छ। व्यापार सुस्त हुँदा धेरै आयातकर्ताहरूको एउटै रोइलो सुन्निन्छ— “खुद्राले पैसा दिएन”, “किसानले बुझेन”, “बजारले साथ दिएन”। तर मुख्य प्रश्न के हो भने, साँच्चै दोष बजारमा छ कि उत्पादनमै?
पछिल्ला वर्षमा बजारमा चलेका धेरै नाम र स्थापित ब्रान्डहरूको हुबहु नक्कल उत्पादन छ्यापछ्याप्ती देखिन थालेका छन्। एमआरपी बिना, लेबलदेखि डिजाइनसम्म कपी, परीक्षण र प्रमाणबिनै बजारमा राखिएका उत्पादनहरूले पशु स्वास्थ्य व्यापारमा अविश्वासको घना बादल बनाइदिएको छ। नक्कलको भरमा टिकाउ व्यापार चल्छ भन्ने सोच स्वयं गलत दिशातर्फ दगुर्ने कदम हो।
आजका किसान अनुभवी छन्। उनीहरूलाई चम्किलो बोतलले लोभ्याउँदैन, काम गर्ने, प्रमाणित, परिणाम दिने उत्पादन चाहिन्छ। कुनै कम्पनीको ब्रान्ड बलियो उपस्थिति, स्पष्ट रिपोर्ट र भरपर्दो प्रभाव नभएसम्म अब किसानले सहजै उत्पादन स्वीकार्दैनन्। तर यही यथार्थ बुझ्नबाट धेरै आयातकर्ता अझै टाढा देखिन्छन्।
नक्कल उत्पादनहरू न त खुद्रा पसलमा व्यवस्थित रूपमा राखिएका हुन्छन्, न बजारमा कुनै दिगो प्रचार हुन्छ। अनि व्यापार नचलेपछि दोष खुद्रा र किसानमाथि थोपारिन्छ, यो बजारको वास्तविक प्रकृति नबुझिएको संकेत हो। काउन्टरमै नदेखिएको उत्पादनले किसानको गोठमा कसरी विश्वास पैदा गर्न सक्छ?
अब जिम्मेवारी खुद्रा व्यवसायीहरूकै काँधमा पनि छ। बेच्ने प्रत्येक उत्पादनबारे ल्याब रिपोर्ट छ कि छैन? कम्पनी प्रमाणित छ कि छैन? गुणस्तर परीक्षण भइसकेको छ कि छैन? भन्ने प्रश्न प्रष्ट रूपमा उठाउनैपर्छ। हैसियत, अनुभव र पारदर्शिता नभएकाले खोलेका “होलसेल” बाट टाढा रहनु नै व्यवसाय सुरक्षित राख्ने दिगो मार्ग हो।
नेपालको पशुपन्क्षी उद्योग अहिले निर्णयको मोडमा छ। यहाँ नक्कल, अव्यवस्था र रोइलोले होइन, मौलिकता, प्रमाण र विश्वासले भविष्य तय गर्नेछ।
अन्त्यमा, व्यापार परिणामले टिक्छ, नक्कलले होइन। बजार विश्वासले चल्छ, रोइलोले होइन।