पर्वत/क़ाठमाडौ, २ पुस २०८२ः
नेपाल भेटेरिनरी एशोसिएसनका केन्द्रीय अध्यक्ष तथा पशु चिकित्सक डा. केदार सुवेदी पर्वत जिल्लाबाट नेपाली कांग्रेसको तर्फबाट संघीय प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवार सिफारिस भएका छन्। भेटेरिनरी क्षेत्र, किसानका समस्या र सार्वजनिक सेवामा लामो समयदेखि सक्रिय सुवेदीको सिफारिसलाई ‘पेशागत नेतृत्व संसदमा’ भन्ने सन्देशका रूपमा हेरिएको छ।
आगामी फागुन २१ गते हुन गैरहेको प्रतिनिधिसभा निर्वाचनको तयारी स्वरूप मङ्सिर २५ गते बसेको नेपाली कांग्रेस पर्वत जिल्ला कार्यसमितिको बैठकले डा. सुवेदीको नाम सिफारिस गरेको हो। पार्टीभित्र स्पष्ट दृष्टिकोण, संगठनप्रतिको प्रतिबद्धता र नयाँ पुस्ताको प्रतिनिधित्व गर्ने नेताका रूपमा डा. सुवेदीको नाम अगाडि आएको कांग्रेस नेताहरू बताउँछन्।
डा.केदार सुवेदी हाल नेपाल भेटेरिनरी एशोसिएसनको केन्द्रीय अध्यक्षको जिम्मेवारीमा छन्। पशु स्वास्थ्य सेवा विस्तार, रोग नियन्त्रण, किसानको लागत घटाउने नीति र पशुपन्छी क्षेत्रको आधुनिकीकरणमा उनी निरन्तर सक्रिय रहँदै आएका छन्। देशभरका पशुपालक किसान, व्यवसायी र सरकारी निकायसँग प्रत्यक्ष काम गरेको अनुभवले उनलाई नीति निर्माणमा व्यवहारिक बुझाइ भएको व्यक्तिका रूपमा चिनाएको छ।
नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि तथा नेपाल तरुण दलका केन्द्रीय सदस्यसमेत रहेका सुवेदी पार्टी संगठनभित्र आन्तरिक लोकतन्त्र, युवाको सहभागिता र तथ्यमा आधारित राजनीतिक बहसका पक्षधर मानिन्छन्। सामाजिक र पेशागत दुवै क्षेत्रबाट आएका उनी राजनीति जनसेवा र नीतिगत सुधारको माध्यम हुनुपर्ने धारणा राख्दै आएका छन्।
कृषि, पशुपालन र ग्रामीण अर्थतन्त्रलाई राष्ट्रिय प्राथमिकतामा राख्नुपर्ने एजेन्डासहित राजनीतिमा अघि बढेका डा. सुवेदीको सिफारिसलाई पर्वत कांग्रेसभित्र आशालाग्दो परिवर्तनको संकेतका रूपमा हेरिएको छ। पेशागत दक्षता, नेतृत्व क्षमता र स्पष्ट दृष्टिकोण बोकेका सुवेदी संसद पुगे किसान र कृषि क्षेत्रका मुद्दा अझ सशक्त रूपमा उठ्ने अपेक्षा गरिएको छ।