काठमाडौँ, पुस १४ गते ।
सुनजस्तै देखिने धातुको डल्लो देखाई ठगी गरेको अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार मिति २०८२ पुस ८ गते काठमाडौँ जिल्ला अन्तर्गत कागेश्वरी मनोहरा नगरपालिका–५ थली क्षेत्रमा सुनजस्तो देखिने धातुको डल्लो देखाई दुई जनाको समूहबाट नगद पाँच लाख रुपैयाँ ठगी गरी फरार भएका व्यक्तिहरूको खोजतलास भइरहेको थियो।
सोही क्रममा प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले काठमाडौँ महानगरपालिका–६ चुच्चेपाटी क्षेत्रबाट चार जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा मकवानपुर जिल्ला इन्द्रसरोवर गाउँपालिका–३ घर भई हाल ललितपुर महानगरपालिका–१३ नख्खु बस्दै आएका ४५ वर्षीय सुकुमान सिंह ब्लोन, इन्द्रसरोवर गाउँपालिका–२ घर भई हाल ललितपुर महानगरपालिका–८ पाटन बस्ने ४८ वर्षीय राजेन्द्र तामाङ रहेका छन्।
त्यसैगरी मकवानपुर जिल्ला बकैया गाउँपालिका–११ घर भई हाल ललितपुर महानगरपालिका लगनखेल बस्ने ५३ वर्षीय बिरबहादुर तामाङ भनिने बिवासित स्याङ्तान र नवलपरासी जिल्ला देवचुली नगरपालिका–१७ घर भई हाल ललितपुर एकान्तकुना बस्ने ४२ वर्षीय जितबहादुर तामाङ पनि पक्राउ परेका छन्।
पक्राउ परेका चारै जनाविरुद्ध ठगी कसुरमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ। आवश्यक म्याद थप गरी थप अनुसन्धान कार्य भइरहेको प्रहरी वृत्त बौद्धले जानकारी दिएको छ।