काठमाडौँ, पुस १४ गते ।
गृह मन्त्रालयमा सरुवा भएर आउनुभएका गृहसचिव राजकुमार श्रेष्ठले सोमबार पदभार ग्रहण गर्नुभएको छ। गृहमन्त्री ओमप्रकाश अर्यालले गृहसचिव श्रेष्ठलाई स्वागत गर्दै नयाँ जिम्मेवारीमा सफल कार्यकालको शुभकामना दिनुभएको छ भने सरुवा भई जानुभएका सचिव रामेश्वर दंगाललाई मन्त्रालयमा रहँदा गर्नुभएको योगदानप्रति धन्यवाद दिँदै बिदाइ गर्नुभएको छ।
गृह मन्त्रालयमा आयोजित स्वागत तथा बिदाइ कार्यक्रममा बोल्दै गृहसचिव श्रेष्ठले सरकारले दिएको जिम्मेवारी सबै कर्मचारीको सहयोगमा कुशलतापूर्वक निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले आगजनी र खरानीबाट उठेको मन्त्रालयलाई हालको अवस्थामा पुर्याउन महत्वपूर्ण भूमिका खेलेको भन्दै निवर्तमान सचिव दंगालप्रति आभार प्रकट गर्नुभयो।
मन्त्रिपरिषद्को पुस ११ गते बसेको बैठकले सचिव दंगाललाई लोकसेवा आयोगमा र सचिव श्रेष्ठलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट गृह मन्त्रालयमा सरुवा गर्ने निर्णय गरेको थियो।
कार्यक्रममा गृहसचिव श्रेष्ठले बदलिँदो परिस्थिति र नागरिकको जनभावनाअनुसार सेवा प्रवाह गर्न सबै कर्मचारीलाई निर्देशन दिनुभयो। बिदाइ कार्यक्रममा मन्त्रालयका सहसचिव तथा विभागीय प्रमुखहरूको उपस्थिति रहेको थियो।