पोल्ट्री संकटको बीचमा १३ औँ राष्ट्रिय पोल्ट्री दिवस : चितवनमा व्यवसायीको एकजुट आवाज

चितवन, १५ पुस २०८२ः

नेपालमा आधुनिक कुखुरा पालन सुरु भएको दिनको सम्झनामा आगामी पुस १७ गते १३औँ राष्ट्रिय पोल्ट्री दिवस चितवनमा विविध कार्यक्रमका साथ मनाइने भएको छ। दिवस नेपाल कुखुरा व्यवसायी मञ्चको आयोजनामा नेपाल सरकारका सरोकारवाला निकायसँग सहकार्य गर्दै मनाउन लागिएको हो।

यस सम्बन्धमा मञ्चले २०८२ पुस १५ गते चितवनमा पत्रकार सम्मेलन गरी कार्यक्रमको जानकारी दिएको हो। मञ्चका अध्यक्ष श्री रघुनाथ भट्टको सभापतित्वमा सम्पन्न कार्यक्रममा उहाँले सहभागीलाई स्वागत गर्दै पोल्ट्री दिवसको उद्देश्य र वर्तमान अवस्थाबारे प्रकाश पार्नुभयो।

कार्यक्रम अनुसार पुस १७ गते बिहान ७:४५ बजे मञ्चको कार्यालय रहेको उद्योग संघ परिसरबाट बाजागाजा, प्लेकार्ड र झाँकीसहित प्रभातफेरी निकालिनेछ। प्रभातफेरी चौबीसकोठी, हाकिमचोक, स्याउली बजार हुँदै पुनः चितवन औद्योगिक प्रदर्शनी परिसरमा पुगेर समापन हुनेछ।

अध्यक्ष भट्टले पोल्ट्री क्षेत्र हाल चरम संकटमा रहेको उल्लेख गर्दै सरकारलाई किसानका माग सम्बोधन गरी यस क्षेत्रलाई आत्मनिर्भर बनाउन आग्रह गर्नुभयो। उहाँले पोल्ट्री क्षेत्रका संघ–संस्थाको प्रतिनिधित्व हुने गरी पोल्ट्री विकास बोर्ड गठन, पोल्ट्रीजन्य उत्पादनका लागि आयात गरिने कच्चा पदार्थमा लाग्दै आएको कृषि सुधार शुल्क र भन्सार महसुल छुटको माग गर्नुभयो। साथै अवैध रूपमा आयात हुने चल्ला, कुखुरा, मासु र अण्डा नियन्त्रण तथा रोगको प्रकृतिअनुसार भ्याक्सिन आयातको सहज व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो।

कार्यक्रममा नेपाल ह्याचरी उद्योग संघका केन्द्रीय अध्यक्ष राजेन्द्र लामिछानेले धेरै किसान विस्थापित भइसकेको र बाँकी किसान बैंक ऋण थप्दै कठिन अवस्थामा टिकिरहेका गुनासो गर्नुभयो। कतिपय किसान आत्महत्यासमेत गर्न बाध्य भएको उल्लेख गर्दै बैंकको कालोसूचीको पीडामा रहेर पनि व्यवसाय जोगाउन लागिरहेको बताउनुभयो।

त्यसैगरी नेपाल दाना उद्योग संघका केन्द्रीय अध्यक्ष उमेशचन्द्र सापकोटाले पछिल्ला वर्षहरूमा विदेशबाट आयात हुने मकैको मात्रा घट्दै गएको जानकारी दिँदै सरकारी सहयोग पाए केही वर्षमै कच्चा पदार्थ आयात उल्लेख्य रूपमा घटाउन सकिने बताउनुभयो। उहाँका अनुसार हाल वर्षेनी करिब ४५ अर्ब रुपैयाँभन्दा बढीको पोल्ट्रीजन्य पदार्थ आयात भइरहेको छ, जुन अघिल्लो समयको ६० अर्ब रुपैयाँबाट घटेको हो।

नेपाल लेयर्स कुखुरा पालक संघका अध्यक्ष विनोद पोखरेलले किसान र व्यवसायी संगठित भएर नलागेको भए अण्डामा आत्मनिर्भर हुन नसक्ने बताउनुभयो। लागत मूल्य अझै किसानले नपाएको गुनासो गर्दै उहाँले भन्नुभयो, “अण्डाको मूल्य घट्दा कोही बोल्दैन, तर लागत मूल्य नजिक पुग्दा अस्वाभाविक वृद्धि भयो भनेर प्रश्न उठाइन्छ।” उहाँका अनुसार किसान संख्या ८ सयबाट घटेर २ सयमा झरेको छ, बाँकी किसानलाई टिकाउनुपर्ने आवश्यकता रहेको छ।

मञ्चका महासचिव ज्ञानबहादुर विसुरालले कोभिडपछि नेपालमा पोल्ट्री उत्पादनमा ह्रास आएको जानकारी दिनुभयो। उहाँका अनुसार हाल ३ वटा जीपी फार्मबाट मासिक १ लाख २० हजार माउ चल्ला, ७ वटा लेयर्स ह्याचरीबाट सातामा १ लाख २० हजार चल्ला, र १०९ ब्रोइलर ह्याचरीबाट सातामा २८–३० लाख चल्ला उत्पादन हुँदै आएको छ। यसैगरी २ हजार लेयर्स फार्मबाट दैनिक ३५–३७ लाख अण्डा, ३५ हजार ब्रोइलर फार्मबाट दैनिक ८ लाख केजी मासु, र ११५ दाना उद्योगबाट दैनिक २ हजार ७ सय मेट्रिक टन दाना उत्पादन भइरहेको उहाँले जानकारी दिनुभयो।

कार्यक्रमको समापनमा मञ्चका उपाध्यक्ष कृष्णहरि लोहनीले धन्यवाद ज्ञापन गर्दै नेपालमा कुखुराको मासु खपत प्रतिव्यक्ति प्रतिवर्ष १०.५ केजी र अण्डा ६१ वटा मात्र रहेको उल्लेख गर्नुभयो। उहाँले पोल्ट्री दिवसलाई सभ्य र भव्य रूपमा सम्पन्न गर्न सञ्चारकर्मीहरूको महत्वपूर्ण भूमिका रहने भन्दै सहयोगको अपेक्षा गर्नुभयो।

कार्यक्रममा नेपाल पोल्ट्री कल्याणकारी संघका अध्यक्ष महेश्वर पोखरेल, महासचिव तुलसीप्रसाद (अमन) सुवेदी, नेपाल लेयर्स कुखुरा पालक संघका प्रथम उपाध्यक्ष जोतेन्द्र श्रेष्ठ, उपाध्यक्ष अमोद खनाल, सचिव मदन पोखरेल, मञ्चका सचिव डा. विष्णुहरि पोखरेल लगायत विभिन्न संघ–संस्थाका प्रतिनिधि तथा मञ्चका पदाधिकारीहरूको उपस्थिति रहेको थियो।

ADV:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!