सूर्यविनायक (भक्तपुर)
भक्तपुरको सूर्यविनायक नगरपालिका–५ सल्लाघारीमा डेरा गरी बस्दै आएका ४१ वर्षीय गोपालबहादुर बलको कोठामा जुवा (तास) खेलिरहेका १४ जनालाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले छापा मार्दा गणेशबहादुर बलसहित १४ जनालाई पैसाको हारजित हुने गरी जुवा तास खेलिरहेको अवस्थामा नियन्त्रणमा लिएको हो।
प्रहरीले उनीहरूको साथबाट नगद रु. १ लाख ५३ हजार २ सय ६० रुपैयाँ र २ बुक तास समेत बरामद गरेको जनाएको छ। पक्राउ परेकालाई प्रहरी वृत्त जगाती भक्तपुरमा ल्याई थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ। उनीहरूलाई सोमबार साँझ ६:३० बजे पक्राउ गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ।