काठमाडौँ, १७ पुस २०८२ः
नेपाली कांग्रेसको नियमित महाधिवेशन स्थगित भएको छ। पार्टीका महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापाले संयुक्त वक्तव्य जारी गर्दै केन्द्रीय कार्यसमितिको मंसिर १५ को बैठकले तय गरेको कार्यतालिका आगामी बैठकबाट अनुमोदन गर्नेगरी महाधिवेशन स्थगित गरिएको जानकारी दिएका छन्।
वक्तव्य अनुसार हालसम्म ५ लाख ७९ हजार ३ सय ९५ क्रियाशील सदस्यता नवीकरण सम्पन्न भएको छ। खोटाङ, बारा, कञ्चनपुर र कैलालीमा प्रक्रिया टुंगिएपछि कुल नवीकरण संख्या करिब ६ लाख नाघ्ने अनुमान गरिएको छ।
महामन्त्रीद्वयले ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षरसहित दर्ता भएको विशेष महाधिवेशनको मागप्रति वैधानिक दायित्व रहेको उल्लेख गर्दै, नियमित महाधिवेशन समयमै हुन नसक्ने अवस्थामा विशेष महाधिवेशनको विकल्प अघि आएको स्पष्ट पारेका छन्।
