चितवनमा मनाइयो १३औँ राष्ट्रिय पोल्ट्री दिवस

चितवन, १७ पुस ।

१३औँ राष्ट्रिय पोल्ट्री दिवस चितवनको भरतपुरमा आज बाजागाजासहित प्रभातफेरी निकालेर मनाइएको छ । नेपाल कुखुरा व्यवसायी मञ्चको आयोजनामा आयोजित कार्यक्रममा नेपाल सरकारका प्रतिनिधि, पोल्ट्री क्षेत्रसँग सम्बन्धित विभिन्न संघ–संस्था तथा क्याम्पसका विद्यार्थीहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

पञ्चेबाजा, थारु झाँकी, प्लेकार्डसहित निकालिएको प्रभातफेरी उद्योग संघ परिसरबाट सुरु भई चौबीसकोठी, हाकिमचोक, स्याउली बजार हुँदै पुनः चितवन औद्योगिक प्रदर्शनी परिसरमा पुगेर समापन गरिएको थियो ।

नेपालमा आधुनिक कुखुरा पालन सुरु भएको दिनको सम्झनामा हरेक वर्ष पुस १७ गते पोल्ट्री दिवस मनाइँदै आएको छ । नेपाल कुखुरा व्यवसायी मञ्चका अध्यक्ष रघुनाथ भट्टका अनुसार सरोकारवाला निकायहरूसँग सहकार्य गरी दिवस मनाउने परम्परा रहँदै आएको छ ।

प्रभातफेरीमा कृषि तथा वन विज्ञान विश्वविद्यालयका प्रा.डा. रेवन्त भट्टराई, अनिल तिवारीसहित विद्यार्थीहरू सहभागी थिए । साथै जिल्ला पशु सेवा कार्यालय चितवनका प्रमुख डा. प्रभात न्यौपाने, भरतपुर महानगरपालिकाको पशुपन्छी प्रवर्द्धन शाखाका प्रमुख डा. शैलेन्द्र भण्डारीलगायत विभिन्न सरकारी निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

त्यसैगरी नेपाल ह्याचरी उद्योग संघका केन्द्रीय अध्यक्ष राजेन्द्र लामिछाने, नेपाल दाना उद्योग संघका केन्द्रीय अध्यक्ष उमेशचन्द्र सापकोटा, नेपाल लेयर्स कुखुरा पालक संघका उपाध्यक्ष अमोद खनाल, नेपाल पोल्ट्री सप्लायर्स कल्याणकारी संघका अध्यक्ष महेश्वर पोखरेल, चितवन–नवलपुर दाना वितरक संघका अध्यक्ष विरबहादुर गुरुङलगायत पोल्ट्रीसँग सम्बन्धित विभिन्न संघ–संस्थाका प्रतिनिधिहरू सहभागी थिए । मञ्चका महासचिव ज्ञानबहादुर बिसुरालले उक्त जानकारी दिनुभयो ।

कार्यक्रममा मञ्चका उपाध्यक्ष कृष्णहरि लोहनी, रामकुमार चौहान, सचिव डा. विष्णुहरी पोखरेल, कोषाध्यक्ष हरिकृष्ण खनाललगायत पदाधिकारी तथा सदस्यहरूको सहभागिता रहेको थियो ।

प्रभातफेरीपछि आयोजित कार्यक्रममा बोल्दै मञ्चका अध्यक्ष भट्टले पोल्ट्री क्षेत्र हाल गम्भीर संकटमा रहेको उल्लेख गर्दै किसानका माग सम्बोधन गर्न सरकारसँग आग्रह गर्नुभयो । उहाँले पोल्ट्री क्षेत्रका सबै संघ–संस्थाको प्रतिनिधित्व हुने गरी पोल्ट्री विकास बोर्ड गठन गर्न, पोल्ट्रीजन्य उत्पादनका लागि आयात गरिने कच्चा पदार्थमा लाग्ने कृषि सुधार शुल्क तथा भन्सार महसुल छुट दिनुपर्ने माग राख्नुभयो ।

त्यसैगरी अवैध रूपमा आयात हुने चल्ला, कुखुरा, मासु र अण्डा नियन्त्रण गर्न तथा रोगको प्रकृतिअनुसार आवश्यक भ्याक्सिन आयातको व्यवस्था गर्नुपर्नेमा पनि उहाँले जोड दिनुभयो ।

चितवनलाई पोल्ट्रीको राजधानीका रूपमा चिनिने गरिएको छ । यही कारण यहाँ हरेक वर्ष पोल्ट्री दिवस विशेष उत्साहका साथ मनाइँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!