काठमाडौँ, पुस १७ गते।
विभिन्न युवा संस्थाको आयोजनामा आज १३औँ राष्ट्रिय पोसाक तथा टोपी दिवस विविध कार्यक्रमसहित मनाइँदै छ।
‘नेपाली टोपीः हाम्रो पहिचान’ भन्ने नाराका साथ विगत १३ वर्षदेखि युवाहरूले यो दिवस मनाउँदै आएका छन्। नेपाली पहिचानको प्रतीकका रूपमा रहेको दौरा–सुरुवाल, टोपी तथा गुन्यु–चोलीलाई युवापुस्तामाझ स्थापित गर्ने उद्देश्यले विसं २०७० देखि राष्ट्रिय पोसाक तथा टोपी दिवस मनाउन थालिएको हो।
दिवसको अवसरमा धेरैले राष्ट्रिय पोसाकमा सजिएको तस्बिर सामाजिक सञ्जालमा पोस्ट गरेका छन्। हरेक वर्ष जनवरी १ तारिखका दिन मनाइँदै आएको यस दिवसले राष्ट्रिय पोसाकको पुनर्जागरणमा टेवा पुगेको आयोजकहरूको भनाइ छ।
विगतमा औपचारिक रूपमा हटाइएको राष्ट्रिय पोसाकको प्रचलनलाई पुनः स्थापित गर्ने उद्देश्यले युवाहरूको स्वस्फूर्त पहलमा यो अभियान सुरु गरिएको हो। दिवसका अवसरमा आज राजधानीका विभिन्न स्थानमा विशेष कार्यक्रमहरू आयोजना गरिएको छ।