दाउन्ने खण्ड अझै सहज हुन सकेन, तीन दिनदेखि सयौँ सवारी जाम

मध्यविन्दु, नवलपरासी, १६ पुस २०८२ः

गत सोमबारदेखि अवरुद्ध रहेको नारायणगढ–बुटवल सडकखण्डअन्तर्गत दाउन्ने क्षेत्र अझै पूर्ण रूपमा सहज हुन सकेको छैन । शीतलहरका कारण सडक चिप्लो र हिलाम्य बनेपछि सवारीसाधन सञ्चालनमा समस्या आएको हो ।

दाउन्नेस्थित खुर्सानी खोला आसपासको सडकमा सवारीसाधन चिप्लिने र उकालो चढ्न नसक्ने समस्या देखिएपछि सोमबार बिहानदेखि उक्त खण्ड अस्तव्यस्त बनेको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) का प्रहरी उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयो ।

उहाँका अनुसार दाउन्नेको पश्चिम खण्डमा शीतलहरका कारण सडक अत्यन्तै चिप्लो बनेकाले सवारीसाधन उकालो चढ्न तथा ओरालो झर्न नसक्दा सडक अवरुद्ध भएको हो । “बिस्तारै सवारी पास गराउने प्रयास भइरहेको छ, तर तीन दिनदेखि रोकिएका सवारी व्यवस्थापन गर्न कठिन भइरहेको छ,” उहाँले भन्नुभयो ।

यस्तै, जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) का सूचना अधिकारी प्रहरी वरिष्ठ नायब निरीक्षक विनोद जोशीका अनुसार बाक्लो हुस्सु र चिप्लो सडकले सवारी सञ्चालनमा अत्यधिक कठिनाइ भएको छ । “दुम्कीवास बजारदेखि नै सवारी जाम कायम छ,” उहाँले भन्नुभयो, “सडक निर्माणका कारण एकतर्फी बनेको राजमार्गमा लामो समय जाम हुँदा व्यवस्थापन झनै चुनौतीपूर्ण बनेको छ ।”

नारायणगढ–बुटवल सडक योजना पश्चिम खण्डका सूचना अधिकारी इन्जिनियर विकास खनालले निर्माणाधीन क्षेत्रमा शीतलहरको प्रभाव कायमै रहेकाले पश्चिम खण्डमा सवारी चाप बढेको बताउनुभयो । उहाँका अनुसार खुर्सानी खोला क्षेत्रमा ग्राभेल हाल्ने काम भइरहेको छ भने अवस्था सहज नहुँदासम्म मालवाहक सवारीसाधनलाई बर्दघाट र भुताहा क्षेत्रमा रोकिएको छ ।

तीन दिनदेखि जारी सवारी जामका कारण सयौँ यात्रु अलपत्र परेका छन् । नारायणगढ–बुटवल सडक योजना (पश्चिम खण्ड) ले सूचना जारी गर्दै अत्यावश्यकबाहेकका सवारीसाधनलाई वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरेको छ । सडक निर्माण तथा मर्मतसँगै शीतलहरका कारण सडक हिलाम्य बन्दा दाउन्ने खण्डमा सवारी सञ्चालन गम्भीर रूपमा प्रभावित भएको आयोजनाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!