काठमाडौं ।
बजारमा बिक्री–वितरण भइरहेको एक एन्टिबायोटिक औषधि न्यून गुणस्तरको पाइएको छ। औषधि व्यवस्था विभागले Levoflox-500 Tablet (Levofloxacin Tablet IP) नामक औषधिको एक ब्याच तुरुन्तै बजारबाट फिर्ता (Recall) गर्न निर्देशन दिएको हो।
राष्ट्रिय औषधि प्रयोगशालाले गरेको परीक्षणमा Magnus Pharma Pvt. Ltd., बारा द्वारा उत्पादित उक्त औषधि IP 2022 मापदण्ड अनुसार Dissolution Test मा असफल भएको पाइएको विभागले जनाएको छ।
औषधि ऐन, २०३५ को दफा १४ अनुसार ब्याच नम्बर BB24001 को बिक्री–वितरण रोक्का गरिएको छ। उक्त ब्याचको औषधि मार्च 2024 मा उत्पादन भई फेब्रुअरी 2026 सम्म म्याद रहेको छ।
विभागले सम्बन्धित उद्योग र प्रतिनिधिलाई औषधि तत्काल बजारबाट फिर्ता गरी विवरण पेश गर्न निर्देशन दिएको छ। साथै, सो ब्याचका औषधिको सिफारिस, बिक्री, वितरण तथा प्रयोग नगर्न सबैलाई आग्रह गरिएको छ।
स्वास्थ्यसँग प्रत्यक्ष सम्बन्धित विषय भएकाले विभागले आम उपभोक्ता, औषधि व्यवसायी र स्वास्थ्यकर्मीलाई सतर्क रहन अनुरोध गरेको छ।
