काठमाडौँ, १९ पुस २०८२ः
नेपालका अधिकांश किसानले आफ्नो बालीमा प्रयोग हुने विषादीको सल्लाह एग्रोभेट (कृषि औषधि पसल) संचालकबाटै लिने गरेको अध्ययनले देखाएको छ। कृषि तथा वन विज्ञान विश्वविद्यालयको अध्ययन अनुसार, ७४ प्रतिशत किसानले विषादी प्रयोगबारे एग्रोभेटको परामर्शमा भर पर्छन्, जबकि केवल चार प्रतिशतले मात्रै विज्ञसँग सल्लाह लिन्छन्।
जिल्ला कृषि विकास कार्यालय काभ्रेका प्रमुख कुलप्रसाद दवाडीका अनुसार, “ठुला व्यावसायिक फर्मले दक्ष प्राविधिकको सल्लाह लिने भए पनि आमकिसान प्रायः एग्रोभेटकै सल्लाहमा निर्भर रहन्छन्। तीन तहको सरकारसँग कृषि प्राविधिक भए पनि संख्या कम र क्षेत्र फराकिलो भएकाले कृषकले आवश्यक सहयोग पाउन सकिरहेका छैनन्।”
अध्ययनले देखाएको छ कि किसानहरूले अघिल्लो सिजन प्रयोग गरेको विषादीको भाँडो देखाएर फेरि प्रयोग गर्ने क्रम १० प्रतिशत, छिमेकी किसानको सल्लाहमा ६ प्रतिशत, र कृषि केन्द्रमा गएर सल्लाह लिने ५ प्रतिशत मात्र छन्। एग्रोभेटमा विषादी बेच्ने धेरै संचालकको शिक्षा कक्षा ११ सम्म र अनुभव १० वर्षभन्दा अलि बढी छ।
विषादी बिक्री अभ्यासमा, ६६ प्रतिशत पसले किसानको समस्या अनुसार, २१ प्रतिशत किसानको माग अनुसार, सात प्रतिशत अनुगमनपछि, र चार प्रतिशत मात्र प्राविधिक सिफारिसमा विषादी बिक्री गर्ने पाइएको छ। यद्यपि, ९६ प्रतिशत पसले मात्र मात्रा सल्लाह दिन्छन्, तर छर्केपछि कुर्ने समय वा प्राविधिक जानकारी कम दिने गर्छन्।
सुरक्षा र सामाजिक पक्षमा, ५७ प्रतिशत प्रौढ पुरुष, ३२ प्रतिशत महिला र १३ प्रतिशत बालबालिकाले विषादी किन्न आउँछन्। महिला र बालबालिकामा विषादी सेवन गरेर आत्महत्या गर्ने घटना बढेकोले गर्दा यसलाई नियमन गर्न आवश्यक देखिएको छ।
कृषक महेश्वर दाहालका अनुसार, “तरकारीको मूल्यमा दैनिक उतार-चढाव हुँदा किसानले कुर्ने समय नमान्ने र तुरुन्त बिक्री गर्ने गरेका कारण विषादी परीक्षणमा समस्या देखा पर्न सक्छ। रासायनिक विषादी घटाएर जैविक विषादी प्रयोग बढाउनु जरुरी छ।”
अध्ययनले वैशाखदेखि चैतसम्म विषादी बिक्री उच्च हुने, र केही जिल्लामा अझै किराना पसल र पान पसलमा समेत घातक विषादी बिक्री भइरहेको देखाएको छ।
कृषि विज्ञहरू किसानलाई जैविक विषादी प्रयोग र सुरक्षित तरिकाले कृषि अभ्यासमा ध्यान दिन आग्रह गरेका छन्।
Source: gorakhapatraonline.com