भक्तपुर, २५ पुस २०८२ः
भक्तपुर उद्योग वाणिज्य संघको २८औँ वार्षिक साधारणसभा तथा अधिवेशनको क्रममा संघको भावी नेतृत्व निर्वाचनबाट चुनिने भए पछि व्यवसायी समुदायमा व्यापक चासो देखिएको छ। यही सन्दर्भमा कार्यसमिति सदस्य (एसोसिएट्स तर्फ) पदका उम्मेदवार जि जे पोल्ट्रीका संचालक युवा ब्यबसायी जेनजी पुस्ताका शिशिर किसीले अनुभव र युवाको ऊर्जालाई एकसाथ अघि बढाउने स्पष्ट दृष्टिकोण प्रस्तुत गर्नुभएको छ।
“अनुभवले बाटो देखाउँछ, युवाको उर्जा अगाडि बढाउँछ” भन्ने मूल सन्देश सहित शिशिर किसीले व्यवसायिक क्षेत्रमा पुस्तागत सहकार्य अपरिहार्य रहेको बताउनुभएको छ। उहाँका अनुसार, पुराना पुस्ताले आर्जन गरेको अनुभव र नयाँ पुस्ताको जोश, नवीन सोच र साहस एकआपसमा जोडिन सके मात्र स्थानीय व्यवसायले नयाँ उचाइ हासिल गर्न सक्छ।
उम्मेदवार किसीले “युवाको हातमा विकास, सबै पुस्ताको साथ” भन्ने नारालाई केवल चुनावी नारा मात्र नभई व्यवहारिक कार्यदिशाको रूपमा अघि सार्नुभएको छ। उहाँले व्यवसायिक नीतिनिर्माण, समस्या समाधान र अवसरको सिर्जनामा सबै पुस्ताको सहभागिता सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभएको छ।
शिशिर किसीका अनुसार, आजको प्रतिस्पर्धी बजारमा परम्परागत अनुभवलाई आधुनिक सोच र प्रविधिसँग जोड्नु समयको माग हो। यसका लागि संघभित्र युवा उद्यमीलाई निर्णय प्रक्रियामा सक्रिय बनाउँदै, अनुभवी व्यवसायीको मार्गदर्शनलाई संस्थागत गर्नुपर्ने उहाँको धारणा छ।
“अनुभव र युवा, दुवैको संगम: अबको समृद्धिको मार्ग” भन्ने विश्वासका साथ उहाँले मतदातालाई सहयोग र समर्थनका लागि आग्रह गर्नुभएको छ। उहाँका अनुसार, मतदाताको एक भोटले व्यवसायिक समुदायलाई अझ सशक्त, एकताबद्ध र भविष्यतर्फ उन्मुख बनाउन महत्वपूर्ण भूमिका खेल्नेछ।
भक्तपुर उद्योग वाणिज्य संघको यस अधिवेशनले नयाँ नेतृत्व चयनसँगै संघको भावी दिशानिर्देश तय गर्ने अपेक्षा गरिएको छ, जहाँ अनुभव र युवाको सन्तुलित संयोजन निर्णायक बन्ने देखिन्छ।