काठमाडौँ, २७ पुस २०८२ः
नेपाल सरकारको स्वास्थ्य बीमा कार्यक्रम नागरिकको पहुँचमा उपचार पुर्याउने उद्देश्यसहित सुरु गरिए पनि त्यसै कार्यक्रमको भुक्तानी नआउँदा देशकै प्रमुख अस्पताल त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ अस्पताल) ले बीमामार्फत हुने उपचार सेवा रोक्ने अवस्था आएको छ।
अस्पताल प्रशासनले सूचना जारी गर्दै स्वास्थ्य बीमा बोर्डबाट लामो समय देखि उपचार खर्चको भुक्तानी नआएकाले अस्पताल आर्थिक संकटमा परेको जनाएको छ। विगत दुई वर्षदेखि बीमा मार्फत उपचार सेवा दिँदै आएको अस्पतालले हालसम्म करिब ४० करोड रुपैयाँभन्दा बढी बीमा दाबी रकम पाउन बाँकी रहेको छ।
बिरामीको चाप बढ्दो अवस्थामा रहे पनि औषधि खरिद, सेवा व्यवस्थापन तथा दैनिक सञ्चालन खर्च धान्न नसक्ने स्थितिमा पुगेपछि अस्पताल माघ १ गतेदेखि स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गतका सम्पूर्ण सेवा स्थगित गर्न बाध्य भएको बताइएको छ।
अस्पतालले यो निर्णय रहर नभई बाध्यताका कारण गरिएको स्पष्ट गर्दै नेपाल सरकार र स्वास्थ्य बीमा बोर्ड सँग पटक–पटक समन्वय गर्दा पनि समस्या समाधान नभएको जनाएको छ। बीमा कार्यक्रमको उद्देश्य र व्यवहारबीच देखिएको यो अन्तरले सर्वसाधारण बीमित नागरिक प्रत्यक्ष मारमा पर्ने चिन्ता बढाएको छ।
अस्पताल प्रशासनले समस्या समाधान भएसँगै सेवा पुनः सञ्चालन गरिने जानकारी दिँदै हाललाई बीमित बिरामीले उपचारका लागि वैकल्पिक व्यवस्था गर्नुपर्ने अवस्था आएको प्रति दुःख व्यक्त गरेको छ।
