पोल्ट्री क्षेत्र दबाबमा: नेपालमा उत्पादन घट्दै, व्यवसायी चिन्तित

काठमाडौँ, २८ पुस २०८२ः

नेपालमा पछिल्लो समय पोल्ट्रीजन्य उत्पादनमा क्रमशः ह्रास देखिन थालेको छ। ह्याचरी, फार्म तथा दाना उद्योगमार्फत हुँदै आएको उत्पादनमा कमी आउँदा समग्र पोल्ट्री क्षेत्र प्रभावित बन्न पुगेको सरोकारवालाहरू बताउँछन्।

नेपाल ह्याचरी उद्योग संघका महासचिव नबराज पौडेलका अनुसार हाल देशभर रहेका तीन वटा जीपी (ग्राण्ड प्यारेन्ट) फार्मबाट प्रतिमहिना करिब १ लाख २० हजार माउ चल्ला उत्पादन हुँदै आएको छ। त्यस्तै, सात वटा लेयर्स ह्याचरीबाट साप्ताहिक १ लाख २० हजार चल्ला उत्पादन भइरहेको छ भने १०९ वटा ब्रोइलर ह्याचरीबाट सातामा करिब २८ देखि ३० लाख चल्ला उत्पादन हुँदै आएको छ।

उत्पादनको अर्को पाटो हेर्दा, देशभर रहेका करिब दुई हजार लेयर्स फार्मबाट दैनिक ३५ देखि ३७ लाख अण्डा उत्पादन हुने गरेको छ। यस्तै, ३५ हजारभन्दा बढी ब्रोइलर फार्मबाट दैनिक करिब ८ लाख केजी मासु उत्पादन भइरहेको छ।

दाना उत्पादनतर्फ हेर्दा, हाल सञ्चालनमा रहेका ११५ वटा दाना उद्योगबाट दैनिक करिब २ हजार ७ सय मेट्रिक टन दाना उत्पादन हुने गरेको महासचिव पौडेलले जानकारी दिनुभयो।

तथापि, उत्पादनका यी तथ्यांक भए पनि पछिल्लो समय लागत वृद्धि, बजार अस्थिरता, रोगको जोखिम, नीतिगत अस्पष्टता तथा आयात–निर्यात व्यवस्थापनमा देखिएका समस्याका कारण पोल्ट्रीजन्य उत्पादनमा दबाब सिर्जना भएको व्यवसायीहरूको भनाइ छ।

पोल्ट्री क्षेत्र कृषि अर्थतन्त्रको महत्वपूर्ण आधार भएको उल्लेख गर्दै महासचिब पौडेलले यस क्षेत्रको संरक्षण, उत्पादन स्थायित्व र व्यवसायीको मनोबल उच्च बनाउन दीर्घकालीन नीति तथा प्रभावकारी सरकारी सहयोग आवश्यक रहेकोमा जोड दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!