काठमाडौँ , ३ माघ २०८२ः
नेपाली कांग्रेसका नवनियुक्त सभापति गगन थापाले निवर्तमान सभापति शेरबहादुर देउवालाई पार्टीको अभिभावक तथा संरक्षकको भूमिकामा रहन आग्रह गरेका छन्।
केन्द्रीय समितिको बैठकअघि शनिबार पत्रकारहरूसँग कुरा गर्दै सभापति थापाले पार्टीलाई एकताबद्ध बनाउन आफू निरन्तर प्रयासरत रहेको बताए। उनले कांग्रेसलाई मजबुत बनाउने अभियानमा निवर्तमान सभापति देउवा र नेता शेखर कोइरालाको सहयोगको अपेक्षा रहेको स्पष्ट पारे।
“निवर्तमान सभापतिबाट अभिभावक र संरक्षकको भूमिकाको अपेक्षा गरेको छु। अब उहाँले आह्वान गरेर ‘अब सकियो, सबै एक ठाउँमा आउनुहोस्’ भनेर भन्नुपर्ने बेला आएको छ,” थापाले भने।
उनले निर्वाचन आयोगको निर्णय सबैले स्वीकार गरी एकै ठाउँमा बसेर पार्टीका निर्णय अघि बढाउनुपर्नेमा जोड दिए। “केही दिनपछि निर्वाचनको मनोनयन छ। यो अवधिमा हामी सबै कुरा मिलाएर अघि बढ्छौँ,” थापाले बताए।
निर्वाचन आयोगबाट आधिकारिकता पाएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक सुरु भएको छ।