ललितपुर, ३ माघ २०८२ः
शेरबहादुर देउवाको नेतृत्वको नेपाली कांग्रेसले निर्वाचन आयोगले माघ २ गते गरेको निर्णयविरुद्ध कानुनी उपचार खोज्ने निर्णय गरेको छ।
आइतबार बिहान पार्टीको केन्द्रीय कार्यालय सानेपामा देउवा नेतृत्वको कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा बसेको केन्द्रीय कार्यसमितिको बैठकले उक्त निर्णय गरेको हो। बैठकको निर्णयबारे पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए।
प्रवक्ता महतका अनुसार निर्वाचन आयोगले २०८२ साल माघ २ गते एकलौटी रूपमा निर्णय गरेको भन्दै त्यसप्रति पार्टीको गम्भीर आपत्ति रहेको छ।
“निर्वाचन आयोगले दुराशयपूर्ण ढंगले निर्णय गरेको छ। आयोगले हामीलाई बोलाएर आफ्नो पक्ष राख्ने अवसरसमेत दिएन। स्थापित नजिर र निर्वाचनसम्बन्धी कानुनी व्यवस्था पालना नभएकाले आइतबार नै सर्वोच्च अदालतमा कानुनी उपचारका लागि जाने निर्णय गरिएको छ,” प्रवक्ता महतले बताए।