चितवन, ३ माघ २०८२ः
प्रतिजैविक प्रतिरोध (Antimicrobial Resistance–AMR) आज विश्वव्यापी चुनौतीका रूपमा देखा परेको छ, जसले खाद्य स्वच्छता, उत्पादन तथा उत्पादकत्व, जनस्वास्थ्य र समग्र अर्थतन्त्रलाई गम्भीर असर पारिरहेको छ। ब्याक्टेरिया, भाइरस, फङ्गस तथा परजीवीलाई नष्ट गर्न वा तिनको वृद्धि रोक्न प्रयोग गरिने औषधिलाई एन्टिमाइक्रोबियल भनिन्छ। यस्ता औषधिको दुरुपयोग र अत्यधिक प्रयोगका कारण सूक्ष्मजीवहरूले प्रतिरोधी क्षमता विकास गर्छन्, जसका कारण पहिले प्रभावकारी रहेका औषधि निष्प्रभावी बन्दै जान्छन्। यही अवस्थालाई प्रतिजैविक प्रतिरोध (AMR) भनिन्छ।

खाद्यजन्य AMR को नियन्त्रण तथा न्यूनीकरणका लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले FAO नेपालकाे प्राविधिक सहयोग तथा पशु सेवा विभागसँगको सहकार्यमा Action to Support Implementation of Codex AMR Texts (ACT) Project कार्यान्वयन गर्दै आएको छ। परियोजनाले जनचेतना अभिवृद्धि, AMR Surveillance प्रणाली सुदृढीकरण, सुशासन प्रवर्द्धन र उत्तम अभ्यासहरूको समर्थनमार्फत खाद्यजन्य AMR को जोखिम घटाउने उद्देश्य राखेको छ।

१७ जनवरी २०२६ मा चितवनको poultry food value chain मा गरिएको संयुक्त AMR Surveillance को पहिलो चरणका नतिजा तथा प्रमुख निष्कर्षहरू ५० भन्दा बढी सरोकारवालामाझ सार्वजनिक गरियो। कार्यक्रममा दाना उद्योग, ह्याचरी, व्यावसायिक कुखुरा फार्म, वधशाला, मासु पसल, मासु प्रशोधन उद्योग, पशु स्वास्थ्यकर्मी, उपभोक्ता तथा युवा वर्गको उल्लेखनीय सहभागिता रहेको थियो।

खाद्य र पशु स्वास्थ्य क्षेत्रलाई एउटै मञ्चमा ल्याउँदै ACT परियोजनाले निजी क्षेत्रको सहकार्यमा चितवनको food value chain, विशेषगरी poultry sector मा AMR को अवस्थालाई बुझ्ने उद्देश्यले surveillance को पहिलो चरण सम्पन्न गरेको हो।
ACT परियोजनाका संयोजक डा. साकार शिवाकोटीले दाना उद्योग र मासु प्रशोधन क्षेत्रबाट प्राप्त AMR surveillance का नतिजाका प्रमुख बुँदाहरू प्रस्तुत गर्दै AMR बढ्न सक्ने विभिन्न कारणहरूबारे स्पष्ट पारे। उनले AMR ले खाद्य उत्पादन, पशु तथा जनस्वास्थ्य, अर्थतन्त्र र स्वास्थ्य सेवामा पार्ने दीर्घकालीन असरबारे पनि सचेत गराए।
“AMR को न्यूनीकरण, खाद्य सुरक्षाको सुनिश्चितता र जनस्वास्थ्य संरक्षणका लागि प्रभावकारी नीति र त्यसको कार्यान्वयन अत्यन्त आवश्यक छ। तर कृषि–खाद्य प्रणालीमा वास्तविक परिवर्तन ल्याउन value chain का प्रत्येक पात्रको व्यवहार परिवर्तन अपरिहार्य छ,” डा. शिवाकोटीले भने।
विश्व स्वास्थ्य संगठन (WHO) का अनुसार, यदि समयमै AMR न्यूनीकरणका उपाय नअपनाइएमा सन् २०५० सम्म प्रत्येक तीन सेकेन्डमा एक जनाको ज्यान AMR का कारण जान सक्ने र संक्रमणहरू उपचारविहीन बन्दै जाने जोखिम छ।
कार्यक्रममा डा. शिवाकोटीले food value chain का सबै सरोकारवालाको साझा भूमिका र जिम्मेवारीबारे जानकारी गराउँदै स्थानीय समुदायका युवा अभियन्ताहरूलाई स्थानीय तहसँग सहकार्य गर्दै जनचेतना फैलाउन, खाद्य सुरक्षाका मुद्दामा वकालत गर्न तथा एन्टिबायोटिकको विवेकपूर्ण प्रयोग, सरसफाइ र स्वच्छता, फार्म तथा उद्योगजन्य फोहोरको उचित व्यवस्थापनमार्फत वातावरण संरक्षणमा योगदान दिन आग्रह गरे। यसले वातावरणमार्फत हुने AMR को प्रसार रोक्न सहयोग पुग्ने उनको भनाइ थियो।
चितवनस्थित राष्ट्रिय एभियन रोग अनुसन्धान प्रयोगशाला (NADIL) का प्रमुख डा. विजय श्रेष्ठले पशु स्वास्थ्य क्षेत्रमा AMR को अवस्थाबारे जानकारी गराउँदै ह्याचरी, व्यावसायिक ब्रोइलर फार्म, वधशाला तथा मासु व्यवसायबाट प्राप्त surveillance का मुख्य नतिजा प्रस्तुत गरे।
“पशु स्वास्थ्य क्षेत्रमा प्रयोग हुने केही एन्टिबायोटिकमा प्रतिरोध देखिन थालेको छ, तर मानव उपचारमा प्रयोग हुने र पशुमा नचलाइने औषधिहरू अझै प्रभावकारी छन्। यदि ती औषधिहरू अव्यवस्थित रूपमा पशु उपचारमा प्रयोग भए भने भविष्यमा मानिसको ज्यान जोगाउने औषधि नै अभाव हुन सक्छ,” उनले चेतावनी दिए।
उनका अनुसार अवस्था अहिले नै निराशाजनक नभए पनि खोप कार्यक्रम, जैविक सुरक्षा उपाय, पशु चिकित्सकको निगरानीमा मात्र औषधि प्रयोग र प्रयोगशालामा आधारित निदानलाई प्राथमिकता नदिइएमा समस्या छिट्टै जटिल हुन सक्छ।
कार्यशालाको अन्त्यमा सहभागीहरूबीच अन्तरक्रियात्मक छलफल सम्पन्न भयो र food value chain का सबै पक्षले आफ्नो भूमिका र जिम्मेवारी इमान्दारितापूर्वक निर्वाह गर्ने प्रतिबद्धता जनाए।
खाद्य स्वच्छता सबैको सरोकार हो। प्रतिजैविक प्रतिरोध विरुद्ध आजैबाट एकजुट भएर अघि बढौँ।