सामाजिक संजालमा आउने भ्रामक सूचना र फेक न्यूजको सरकारी निकायबाट खण्डन गर्ने

पोल्ट्री क्षेत्रको विकासमा सरकारी निजी सहकार्य आवश्यक

भरतपुर, १४ माघ २०८२ः
शिब बराल

पोल्ट्री क्षेत्रको दिगो विकासका लागि सरकारी तथा निजी क्षेत्रबीच समन्वय र सहकार्य सुदृढ गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन्। नेपाल ह्याचरी उद्योग संघ बाग्मती प्रदेश समन्वय समितिको आयोजनामा भरतपुरमा आयोजित गोष्ठीमा यस्तो निष्कर्ष निकालिएको हो।

“पोल्ट्री क्षेत्रको विकासका लागि सरकारी तथा निजी क्षेत्रको भूमिका” विषयक उक्त कार्यक्रममा संघका प्रदेश संयोजक ज्ञानबहादुर बिसुरालको सभापतित्व तथा केन्द्रीय अध्यक्ष राजेन्द्र लामिछानेको प्रमुख आतिथ्यता रहेको थियो। उक्त गोष्ठीमा राष्ट्रिय पंक्षीरोग अन्वेषण प्रयोगशाला चितवनका प्रमुख डा. विजयकुमार श्रेष्ठ, पशु सेवा कार्यालय चितवनका प्रमुख डा. प्रभात न्यौपाने, नेपाल कुखुरा व्यवसायी मञ्चका अध्यक्ष रघुनाथ भट्टलगायत सरकारी तथा निजी क्षेत्रका प्रतिनिधिहरूको सहभागिता थियो।

कार्यक्रममा निजी क्षेत्रका तर्फबाट प्रा. डा. रेवन्तकुमार भट्टराई र सरकारी तर्फबाट डा. प्रभात न्यौपानेले कार्यपत्र प्रस्तुत गरेका थिए। कार्यपत्रमा पोल्ट्री क्षेत्रको वर्तमान अवस्था, उत्पादन लागत, रोग जोखिम, बजार अस्थिरता, तथ्यांक अभाव तथा नीतिगत चुनौतीबारे चर्चा गरिएको थियो।

छलफलपछि कार्यक्रमले पोल्ट्री क्षेत्रको समग्र विकासका लागि सरकारी–निजी संवादलाई निरन्तरता दिने, क्षेत्रसँग सम्बन्धित तथ्यांक अद्यावधिक गर्न संयुक्त पहल गर्ने तथा पशुपंक्षी स्वास्थ्य समस्या देखिएमा सम्बन्धित प्राविधिक निकायसँग तुरुन्त समन्वय गर्ने निर्णय गरेको छ। यसैगरी, प्यारेन्ट स्टक आयात सिफारिस प्रक्रियामा नेपाल ह्याचरी उद्योग संघको सिफारिस अनिवार्य गर्ने व्यवस्था मिलाउने, पोल्ट्रीजन्य वस्तुको मूल्य निर्धारणका लागि संयुक्त कार्यदल गठन गर्ने तथा भ्रामक सूचना र फेक न्यूजको सरकारी निकायबाट खण्डन गर्ने विषयमा समेत सहमति भएको जनाइएको छ। गोष्ठीले रोगको स्ट्रेनअनुसार उपयुक्त भ्याक्सीन उपलब्ध गराउन सम्बन्धित सरकारी निकायले आवश्यक निर्णय गर्नुपर्नेमा पनि जोड दिएको छ।

कार्यक्रममा नेपाल लेयर्स कुखुरापालक संघ, पोल्ट्री सप्लायर्स कल्याणकारी संघ, दाना वितरक संघ, पशु क्वारेन्टाइन चेकपोष्ट, ह्याचरी उद्योग संघका पदाधिकारी तथा प्राविधिकहरूको सहभागिता रहेको थियो। कार्यक्रमको सञ्चालन नेपाल कुखुरा व्यवसायी मञ्चका कार्यकारी सचिव शिवप्रसाद बरालले गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!