वाईसीएलद्वारा ‘अर्धसैन्य संरचना’ ब्युँताउने निर्णयः १६५ क्षेत्रमा एसटीएफ खटाइने

काठमाडौं, १८ माघ २०८२ः

योङ कम्युनिस्ट लिग (वाईसीएल) नेपालले आफ्नो अर्धसैन्य संरचना पुनः सक्रिय गर्ने निर्णय गरेको जनाएको छ। वाईसीएलको भर्चुअल माध्यमबाट बसेको केन्द्रीय समिति बैठकले सो निर्णय गरेको जानकारी नेतृत्वले दिएको हो।

वाईसीएल नेपालका अध्यक्ष पुष्प ओलीका अनुसार देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा मतदाता तथा उम्मेदवारको सुरक्षाका लागि स्पेशल टास्क फोर्स (एसटीएफ) क्याम्पिङका रूपमा परिचालन गरिनेछ। उनका अनुसार निर्वाचन केन्द्रित गतिविधिलाई लक्षित गर्दै संगठनात्मक संरचना सुदृढ पारिएको हो।

बैठकले अन्तरपार्टी युवा, विद्यार्थी तथा जेनजी पुस्तालाई संयोजन गर्ने विशेष संयन्त्र निर्माण गर्ने निर्णय पनि गरेको छ। यसैगरी, सबै प्रदेशमा एकतामा आएका युवा संगठनका नेताहरू समेटेर ‘कमान्ड सेन्टर’ स्थापना गरिने जनाइएको छ।

वाईसीएलले “एक बुथ, सय युथ” अभियानअन्तर्गत प्रत्येक मतदान केन्द्रमा युवाहरू खटाउने तयारी गरेको जनाएको छ। साथै, सामाजिक सञ्जालको अधिकतम प्रयोग गर्दै सम्बन्धित मतदान क्षेत्रमा त्यही क्षेत्रका युवालाई परिचालन गरिने रणनीति रहेको अध्यक्ष ओलीले बताए।

बैठकमा पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र फ्याक्सन इन्चार्ज दीपशिखाले आसन्न निर्वाचनलाई सफल बनाउन विशेष भूमिका निर्वाह गर्न निर्देशन दिएको पनि वाईसीएलले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!