सांसद थापाले गरे सूर्यविनायक – साँगा सडक खण्डको निर्माण शुभारम्भ

विकास निर्माणमा राजनीतिक दलहरुबीच सहकार्य र समन्वय हुनुपर्ने

भक्तपुर, चैत्र १६, २०७९ः

प्रतिनिधि सभा सदस्य एवम् नेपाली कांग्रेस भक्तपुरका सभापति सांसद दुर्लभ थापाले विकासमा राजनीति नगर्न आग्रह गर्नुभएको छ । सूर्यविनायक – धुलिखेल, धुलिखेल – सिन्धुली – बर्दिवास सडक आयोजना अन्तर्गत सूर्यविनायक – साँगा सडक खण्डको बिस्तार कार्यको बिहिवार भक्तपुरमा शुभारम्भ गर्दै सांसद थापाले विकास निर्माणमा राजनीतिक दलहरुबीच सहकार्य र समन्वय हुनुपर्नेमा जोड दिनुभयो । उहाँले सडक सबैको साझा सम्पत्ति भएको बताउँदैं यसको निर्माण समयमा सम्पन्न गर्न स्थानीय तह, प्रदेश र संघिय संसदका जनप्रतिनिधिहरुले सहकार्य समन्वय गर्नुपर्नेमा जोड दिनुभएको हो ।

बजेटका कारण सडक निर्माणको काम रोकिनु नहुने बताउँदैं उहाँले समयमा बजेट उपलब्ध गराउन संघिय सरकारमा आवश्यक पहल गर्ने प्रतिवद्धता जनाउनुभयो । उहाँले भाषण धेरै गर्नेले काम नगर्ने चर्चा गर्दै अहिलेको परिस्थितीमा भाषण भन्दा बढी काम गरेर देखाउनु पर्ने जरुरी रहेको औंल्याउनुभयो । उहाँले कमलविनायक नगरकोट सडकको दुरावस्थाले त्यहाँका जनताले जुन खालको सास्ती व्यहोर्नु पर्यो त्यस्तो अवस्था यो सडकमा आउन नहुने बताउनुभयो । काठमाण्डौंको चक्रपथ निर्माण सम्पन्न भएको केही वर्षमा पुनः विभिन्न निर्माण कार्यका लागि भत्काउनु परेको उदाहरण प्रस्तुत गर्दै सूर्यविनायक धुलिखेल सडकमा पनि त्यस्तो अवस्था आउन नदिन सडकका ओभरहेड क्रस ब्रिजलगायतका आवश्यक पुर्वाधार समेत एकै पटकमा निर्माण हुने गरी कार्य अघि बढाउन सडक आयोजनालाई निर्देशन दिनुभयो ।

उहाँले एक पटक निर्माण भएको सडकमा कम्तिमा २५ वर्ष भत्काउन र पुनः निर्माण गर्न नपर्ने गरी योजनावद्ध र गुणस्तरिय कार्य हुनुपर्नेमा जोड दिँदैं निर्माण कम्पनीलाई समयमा निर्माण कार्य सम्पन्न गर्न सुझाव दिनुका साथै त्यसका लागि आवश्यक सहकार्य समन्वय गर्ने प्रतिवद्धता जनाउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!