काठमाडौं, ५ माघ २०८२ः
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल र युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले पदबाट राजीनामा दिनुभएको छ। आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारी दिने तयारीका साथ उहाँहरूले सोमबार प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राजीनामा पेश गर्नुभएको हो।
मन्त्री खरेलले बालुवाटार पुगेर प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाउनुभएको हो भने मन्त्री गुप्ताले प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा राजीनामापत्र पेश गर्नुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामबहादुर रावलले जानकारी दिनुभयो।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारी दिने निर्णयसँगै दुवै मन्त्रीले पदबाट अलग हुने निर्णय लिनुभएको हो। यद्यपि, राजीनामापत्रमा उहाँहरूले कुन राजनीतिक दलबाट निर्वाचनमा होमिने भन्ने विषय भने खुलाउनुभएको छैन।
जेन–जी आन्दोलनपछि गठन भएको सरकारमा सहभागी यी मन्त्रीहरू राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट निर्वाचनमा प्रतिस्पर्धा गर्न सक्ने अनुमान गरिएको छ।
राजीनामापत्रमा मन्त्री खरेलले उल्लेख गर्नुभएको छ, “वर्तमान राष्ट्रिय आवश्यकता, लोकतान्त्रिक प्रणालीको दीर्घकालीन सुदृढीकरण र जनअपेक्षाको परिप्रेक्ष्यमा अब दलीय राजनीतिमार्फत सक्रिय एवं उत्तरदायी भूमिका निर्वाह गर्नु वाञ्छनीय भएको निष्कर्षमा म पुगेको छु। वर्तमान सरकारको स्वतन्त्र पहिचानमा आँच नआओस् भन्ने उद्देश्यले दलीय राजनीतिको मैदानमा प्रवेश गर्नुअघि नै पदबाट राजीनामा दिने निर्णय लिएको हुँ।”