भक्तपुर–१ मा पुराना दल ‘तल झरे’: जनमत आफूतिर रहेको राप्रपा उम्मेदवार खड्काको दाबी

भक्तपुर, २६ माघ २०८२ः
कृष्ण किसी

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का तर्फबाट भक्तपुर क्षेत्र नं. १ का प्रतिनिधिसभा उम्मेदवार भरतबहादुर खड्काले आफ्नो निर्वाचन क्षेत्रमा नेपाली कांग्रेस र नेकपा एमालेजस्ता ठूला दलको जनाधार कमजोर भइसकेको दाबी गरेका छन्।

सोमबार स्वतन्त्र पत्रकार संघ भक्तपुर जिल्ला शाखाले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उनले भने, “ठूला भनिएका दलका नेताहरू मैदानमा देखिए पनि जनमत धेरै तल झरिसकेको छ।”

एमाले उम्मेदवार सोम मिश्र पूर्वमेयर भएकाले जनताले उनलाई राम्रोसँग चिनिसकेको उल्लेख गर्दै खड्काले भने, “उहाँ टेस्टेड व्यक्ति हुनुहुन्छ, त्यसैले जनताले मूल्यांकन गरिसके। एमालेको प्रभाव घटिसक्यो।” कांग्रेसको अवस्था पनि सो क्षेत्रमा कमजोर रहेको उनको दाबी थियो।

उनले तुलनात्मक रूपमा नेकपा (माओवादी केन्द्र) केही माथि देखिएको विश्लेषण गरे। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को भने “सामान्य चहलपहल” मात्र देखिएको भन्दै उनले उक्त पार्टीबारे आफूले जनतालाई “सचेत” गराउँदै आएको बताए। “रास्वपाले भविष्यमा देश कसरी बेच्दैछ भन्ने विषयमा पनि हामीले जनतालाई बुझाइरहेका छौं,” उनले भने। यसै कारण जनमत आफ्नो पक्षमा बढिरहेको उनको दाबी थियो।

तलब–सुविधा नलिने घोषणा

फरक प्रसंगमा खड्काले आफू निर्वाचित भए सांसदका रूपमा पाउने तलब, भत्ता र सेवा–सुविधा नलिने सार्वजनिक घोषणा गरे। “म जनताको सेवाका लागि उम्मेदवार भएको हुँ, सुविधा भोग्न होइन,” उनले भने, “मलाई आउने सबै सेवा–सुविधा निमुखा जनताका लागि खर्च गरिनेछ।”

निर्वाचित भए आफ्नो क्षेत्रमा सडक र खानेपानी व्यवस्थापनलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे।

को–को छन् मैदानमा?

भक्तपुर क्षेत्र नं. १ मा राप्रपाबाट भरतबहादुर खड्का, नेपाल मजदुर किसान पार्टी (नेमकिपा) बाट प्रेम सुवाल, नेपाली कांग्रेसबाट किरण न्यौपाने, एमालेबाट सोम मिश्र, नेकपाबाट हरिराम लवजू र रास्वपाबाट रुकेश रञ्जितसहित विभिन्न दल र स्वतन्त्र गरी कुल २५ जना उम्मेदवार चुनावी मैदानमा छन्।

अघिल्लो परिणाम

२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा यही क्षेत्रबाट नेमकिपाका प्रेम सुवाल ४२,७६१ मतसहित विजयी भएका थिए। एमालेका नवराज गेलालले ११,९६८ मत ल्याएका थिए भने राप्रपाका भरतबहादुर खड्काले ९,२२२ मत प्राप्त गरेका थिए। तत्कालीन गठबन्धनका उम्मेदवार माओवादीका सुनिल गोठेले करिब ५ हजार मत पाएका थिए।

यो निर्वाचन क्षेत्रमा भक्तपुर नगरपालिका र चाँगुनारायण नगरपालिका पर्दछन्। यहाँ एक लाखभन्दा बढी मतदाता रहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!