रौतहट, १० फागुन २०८२ः
जिल्लामा धार्मिक र सामाजिक विषयमा बढेको तनावका कारण जारी कर्फ्यु आदेशलाई थप लम्ब्याइएको छ। जिल्ला प्रशासन कार्यालय रौतहटले ९ गते शनिवार दिउँसो १ बजेदेखि जारी गरेको कर्फ्यु अर्को आदेश नहुन्जेलसम्म लागू रहने जनाएको छ।
शनिबार राति प्रदर्शनकारीहरूले मोटरसाइकल र जिपमा आगजनी गरेका थिए। विवाद मस्जिद अगाडि विवाहको जन्ती बाजा बजाउँदै आउँदा उत्पन्न भएको थियो। स्थिति अझ तनावपूर्ण बनेपछि शुक्रबार साँझ सामाजिक सद्भाव कायम राख्ने प्रतिबद्धता जनाइए पनि त्यो कार्यान्वयन नगरेपछि कर्फ्यु आदेश लम्ब्याइएको हो।
कर्फ्यु आदेश अनुसार, पूर्वमा मुडवलबा गेट, पश्चिममा लालबकैया बाँध, उत्तरमा बम नहर र दक्षिणमा गौर भन्सार कार्यालय क्षेत्रमा कर्फ्यु लागू गरिएको छ। आइतबार ६:३० देखि ८:30 बजेसम्म कर्फ्यु आदेशमा खुकुलोपन दिइएको भए तापनि कुनै भेला, जुलुस वा प्रदर्शन गर्न प्रतिबन्धित गरिएको छ।
प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुषालका अनुसार, स्थिति सामान्य बनाउन प्रयास भइरहेको छ र केही व्यक्तिहरूलाई नियन्त्रणमा पनि लिइएको छ।