भक्तपुर।
‘Right to Protein: Powering Health, Productivity, and the Future’ नारासहित विश्व प्रोटिन दिवस २०२६ भक्तपुरको मध्यपुर थिमिमा विविध कार्यक्रमका साथ सम्पन्न भएको छ। सन् २०२० देखि हरेक वर्ष फेब्रुअरी २७ मा मनाइँदै आएको यो दिवसले प्रोटिनलाई आधारभूत पोषण अधिकारका रूपमा स्थापित गर्दै स्वास्थ्य, उत्पादकत्व र समृद्ध भविष्यसँग यसको प्रत्यक्ष सम्बन्धबारे जनचेतना अभिवृद्धि गर्ने लक्ष्य राखेको छ।
नेपाल दाना उद्योग संघको आयोजनामा तथा U.S. Soybean Export Council (USSEC)को प्राविधिक सहयोगमा सम्पन्न भएको उक्त कार्यक्रममा नेपाल पोल्ट्री महासंघ, नेपाल ह्याचरी उद्योग संघ, नेपाल लेयर्स कुखुरा पालक संघ, नेपाल पशुपन्छी औषधि व्यवसायी संघ तथा नेपाल भेटेरिनरी एशोसिएसनको सहकार्य रहेको थियो।
मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठको प्रमुख आतिथ्यता सम्पन्न उक्त कार्यक्रममा विशेष अतिथिका रूपमा उपप्रमुख बिजय श्रेष्ठ, पशु सेवा विभागका महानिर्देशक डा. उमेश दाहाल, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागकी महानिर्देशक डा. मतिना जोशी वैद्य तथा नेपाल पोल्ट्री महासंघका उपाध्यक्ष नारायण हरी खत्रीको सहभागिता रहेको थियो।
“भ्रम होइन, वैज्ञानिक तथ्य हेरौं”
कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख सुरेन्द्र श्रेष्ठले पोल्ट्री क्षेत्रमा एण्टिबायोटिक औषधि र हर्मोन प्रयोगबारे फैलिएका भ्रमहरू वैज्ञानिक आधारमा खण्डित भइसकेको बताउँदै उपभोक्तालाई भ्रमित नहुन आग्रह गरे। उनले कुखुराको मासु र अण्डा सुलभ, सुरक्षित र भरपर्दा प्रोटिन स्रोत भएको उल्लेख गरे। उहाले नगर भित्रका विद्यालय दिवा खाजामा अण्डा समावेश गर्ने विषयमा स्थानीय तहले नीतिगत पहल गर्न सक्ने धारणा पनि व्यक्त गर्दै यो बारेमा युसेक संग सहकार्य गर्न सकिने बताए।
विशेष अतिथि उपप्रमुख विजय श्रेष्ठले प्रोटिन मानव वृद्धि, विकास र कार्यक्षमताका लागि अपरिहार्य रहेको उल्लेख गर्नु भयो।
नेपालमा प्रोटिन उपभोगको अवस्था
नेपाल दाना उद्योग संघका अध्यक्ष उमेशचन्द्र सापकोटाले नेपाली समाजमा कार्बोहाइड्रेटको अत्यधिक र प्रोटिनको न्यून उपभोग दीर्घकालीन स्वास्थ्य जोखिमको कारण बनेको बताए। उनका अनुसार नेपालमा प्रतिव्यक्ति वार्षिक करिब ६५ वटा अण्डा र २० किलोग्राम मासु मात्र खपत हुने गरेको छ, जुन विश्व औसतभन्दा कम हो। विद्यालय तहदेखि नै प्रोटिनको महत्त्व पाठ्यक्रममा समावेश गर्नुपर्ने आवश्यकता उनले औंल्याए। संघका महासचिव केशवराज थापाले सन् २०१६ यता दानामा एण्टिबायोटिक प्रयोग नगरिएको दाबी गर्दै यदि नीतिविपरीत प्रयोग भएको पाइए कडा कारबाही गर्न सम्बन्धित निकायलाई आग्रह गरे।
दुई प्यानलमा गहन बहस
पहिलो प्यानल छलफल प्रोटिनको उपलब्धता, पहुँच र गुणस्तरमा केन्द्रित थियो। कुपोषण, बालबालिका तथा महिलामा प्रोटिन आवश्यकता, खाद्य सुरक्षा, जनस्वास्थ्यका आयाम तथा सरकारी नीतिबारे छलफल भयो।
प्यानलमा डा. उमेश दाहाल, डा. मतिना जोशी वैद्य र केशब थापा सहभागी हुनहुन्थ्यो भने मेन्टरका रूपमा पोल्ट्री विज्ञ डा. दिनेश गौतम रहनुभएको थियो। सरकारी निकायहरूले नेपालमा उत्पादन हुने पशुजन्य खाद्य पदार्थ सुरक्षित रहेको स्पष्ट पारेका थिए।
दोस्रो प्यानल छलफलमा शारीरिक तन्दुरुस्ती, सक्रिय जीवनशैली र उत्पादकतामा प्रोटिनको भूमिकामा केन्द्रित रह्यो। फिटनेस विज्ञ रमेश प्याथ तथा नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालका कार्यकारी निर्देशक डा. डि के रोशन सहभागी हुनुभएको थियो। मेन्टरका रूपमा डा. अशेष भट्टराई रहनु भएको थियो।
‘Protein-o-meter’ मार्फत व्यवहारिक सन्देश
कार्यक्रममा U.S. Soybean Export Council (USSEC)का नेपाल लिड डा. अशेष भट्टराईले ‘Protein-o-meter’ नामक अन्तरक्रियात्मक टुल प्रस्तुत गर्नुभयो। उक्त टुलमार्फत सहभागीहरूले आफ्नो उमेर, तौल र जीवनशैलीअनुसार आवश्यक प्रोटिन र वास्तविक सेवनबीचको अन्तर मापन गर्ने अवसर पाएका थिए। यसले नेपालमा प्रोटिनको न्यून उपभोगबारे ठोस तथ्यसहित सन्देश दिएको आयोजकले जनाएको छ।
इतिहासदेखि भविष्यसम्म
सन् २०२० देखि सुरु भएको विश्व प्रोटिन दिवसले विश्वव्यापी रूपमा कुपोषण न्यूनीकरण, पोषण सुरक्षा प्रवर्द्धन र सन्तुलित आहारमा प्रोटिनको भूमिकाबारे बहसलाई तीव्र बनाएको छ। यस वर्षको थीमले प्रोटिनलाई केवल पोषण तत्व नभई स्वस्थ नागरिक, उच्च उत्पादकत्व र समृद्ध राष्ट्रको आधारका रूपमा परिभाषित गरेको छ। कार्यक्रममा सरकारी तथा निजी क्षेत्रका प्रतिनिधि, पोल्ट्री उद्यमी, भेटेरिनरी चिकित्सक, विद्यार्थी तथा सामाजिक संघ–संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
समग्रमा, मध्यपुर थिमिबाट उठेको सन्देश स्पष्ट छ-“प्रोटिनमाथिको अधिकार सुनिश्चित गर्नु नै स्वास्थ्य, उत्पादकत्व र भविष्य सुरक्षित गर्नु हो।”
फोटो फ़िचर:
