अमेरिका–इजरायल आक्रमणपछि मध्यपूर्वको आकाश बन्द, विश्वभर हजारौँ उडान रद्द

पेरिस, १७ फागुन २०८२ः

अमेरिका र इजरायलले इरानमा गरेको आक्रमणपछि मध्यपूर्वका देशहरूले आफ्नो हवाई क्षेत्र आंशिक वा पूर्णरूपमा बन्द गरेका छन्, जसका कारण विश्वव्यापी हवाई यातायातमा ठूलो अवरोध देखिएको छ। हजारौँ उडान ढिलाइ वा रद्द भएका छन् भने हजारौँ यात्रुहरू विभिन्न विमानस्थलमा रोकिएका छन्।

आक्रमणपछि इरान, इराक, इजरायल, सिरिया, कुवेत र संयुक्त अरब इमिरेट्सले आफ्नो आकाश नियन्त्रणमा राख्ने घोषणा गरेका थिए।

प्रमुख एयरलाइन्सहरू जस्तै Emirates, Etihad Airways, Air France, British Airways, Air India, Turkish Airlines र Lufthansaले सेवा स्थगित गरेका छन्। उड्डयन विश्लेषक कम्पनी ‘सिरियम’का अनुसार मध्यपूर्व क्षेत्रमा करिब ४,२१८ उडानमध्ये ९६६ उडान रद्द भएका छन् भने आउटबाउन्ड उडानहरू समेत जोड्दा संख्या १,८०० नाघेको छ।

इरानले तुरुन्तै आफ्नो हवाई क्षेत्र बन्द गरेको छ भने इजरायलले पनि नागरिक उडानका लागि आकाश बन्द गरेको घोषणा गरेको छ। कतार, जोर्डन लगायतका देशहरूले आंशिक वा पूर्णरूपमा हवाई क्षेत्र बन्द गरेका छन्।

गल्फ क्षेत्रका एयरलाइन्समध्ये Emirates र Etihad Airwaysले क्रमशः ३८ र ३० प्रतिशत उडान रद्द गरेका छन्। Qatar Airwaysले आफ्नो सम्पूर्ण उडान स्थगित गरेको जनाएको छ भने Syrian Airले अर्को सूचना नआएसम्म सबै उडान रद्द गरेको छ। EgyptAirले दुबई, दोहा, मनामा, अबु धाबी, बेरुत र बगदाद गन्तव्यका लागि उडान निलम्बन गरेको छ।

युरोपेली एयरलाइन्सहरू पनि प्रभावित भएका छन्। Rosaviatsiyaले इजरायल र इरानका लागि सबै व्यावसायिक उडान रद्द गरेको छ। Swiss International Air Lines र Lufthansa लगायतले मध्यपूर्वका प्रमुख गन्तव्यमा उडान स्थगित गरेका छन्।

नर्थ अमेरिका र एसिया–प्यासिफिकका एयरलाइन्सहरू जस्तै Delta Air Lines, American Airlines, United Airlines, Air Canada, IndiGo, Cathay Pacific र Garuda Indonesiaले समेत मध्यपूर्वका गन्तव्यका लागि उडान स्थगित गरेका छन्।

अफ्रिकाका Ethiopian Airlines र Kenya Airwaysले पनि दुबई, अम्मान, तेल अभिव, दम्माम र बेरुत गन्तव्यमा उडान रद्द वा स्थगित गरेका छन्।

कोभिड–१९ महामारीपछि विश्वव्यापी हवाई यातायातमा आएको सबैभन्दा ठूलो अवरोध यसपटक अमेरिका–इरान द्वन्द्वका कारण भएको बताइएको छ, जसले यात्रु, व्यवसाय र अन्तर्राष्ट्रिय उड्डयन क्षेत्रमा नयाँ चुनौती थपेको छ। (रासस/एएफपी)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!