आज मध्यरातदेखि मौन अवधि सुरु, प्रचारप्रसारमा पूर्ण रोक

काठमाडौँ, १८ फागुन २०८२ः

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत राजनीतिक दल तथा उम्मेदवारको प्रचारप्रसारको अवधि आज मध्यरातदेखि सकिँदैछ। निर्वाचन आयोग ले दल तथा उम्मेदवारलाई फागुन ४ गतेदेखि आज राति १२ बजेसम्म प्रचारप्रसारको समय दिएको थियो।

मतदान हुनुभन्दा ४८ घण्टाअघिदेखि मतदान सम्पन्न नभएसम्म कायम रहने ‘मौन अवधि’मा कुनै पनि प्रकारको प्रचारप्रसार, भाषण, सभा, भेला, छलफल वा निर्वाचनलाई प्रभाव पार्ने गतिविधि गर्न पाइने छैन। आयोगका अनुसार मौन अवधिमा मत माग्ने, सामाजिक सञ्जालमार्फत पोस्ट गर्ने वा मतदातालाई प्रभाव पार्ने कुनै पनि गतिविधि गर्न निषेध गरिएको छ।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी ले मौन अवधिमा निर्वाचनलाई प्रभाव पार्ने गरी आर्थिक कारोबार भएको पाइए उम्मेदवारी खारेज हुने र सम्बन्धित व्यक्तिलाई छ वर्षसम्म कुनै पनि निर्वाचन प्रक्रियामा भाग लिन नपाउने कारबाही गरिने जानकारी दिनुभयो। आयोगले निर्वाचनलाई प्रभाव पार्ने गतिविधिमाथि ‘शून्य सहनशीलता’ नीति अपनाइने स्पष्ट पारेको छ।

पूर्वप्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया का अनुसार मौन अवधिले मतदातालाई स्वच्छ, स्वतन्त्र र विवेकपूर्ण ढङ्गले निर्णय लिन अनुकूल वातावरण सिर्जना गर्छ। निर्वाचन व्यवस्थापनका दृष्टिले पनि यो अवधि अत्यन्त महत्त्वपूर्ण मानिन्छ।

निर्वाचन आचारसंहिताअनुसार मौन अवधि सुरु हुनुअघि मतदान केन्द्रको ३०० मिटर वरिपरि राखिएका प्रचार सामग्री हटाइसक्नुपर्ने व्यवस्था छ। यस अवधिमा एसएमएस, फेसबुक, भाइबरलगायत विद्युतीय माध्यमबाट मत माग्न वा प्रचार गर्न पाइँदैन। उम्मेदवार वा दलको पक्षमा समाचार वा सूचना प्रकाशन/प्रसारण गर्नसमेत रोक लगाइएको छ।

आउँदो बिहीबार हुने निर्वाचनमा प्रत्यक्ष (पहिलो हुने निर्वाचित हुने प्रणाली)तर्फ ६५ राजनीतिक दलका उम्मेदवार प्रतिस्पर्धामा छन्। प्रत्यक्षतर्फ तीन हजार ४०६ तथा समानुपातिकतर्फ तीन हजार १३५ उम्मेदवार चुनावी मैदानमा छन्। प्रत्यक्षतर्फ १६५ निर्वाचन क्षेत्र र समानुपातिकतर्फ ११० स्थानका लागि मतदान हुनेछ।

यसपटक १ करोड ८९ लाख तीन हजार ६८९ मतदाता सहभागी हुनेछन्। देशभर १० हजार ९६७ मतदान स्थलमा २३ हजार ११२ मतदान केन्द्र निर्धारण गरिएका छन्। निर्वाचन सुरक्षाका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग र म्यादी प्रहरीसहित ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।

आयोगका अनुसार निर्वाचनका लागि दुई लाख १५ हजार कर्मचारी खटिनेछन् भने प्रत्यक्ष र समानुपातिक गरी कुल चार करोड २२ लाख ५१ हजार २०० मतपत्र छपाइ सम्पन्न भइसकेको छ। चार अन्तर्राष्ट्रिय र ३९ राष्ट्रिय संस्थाले निर्वाचन पर्यवेक्षण गर्नेछन्।

मौन अवधि सुरु भएसँगै अब मतदाताले शान्त वातावरणमा आफ्नो निर्णयलाई अन्तिम रूप दिँदै मतदानको तयारी गर्नेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!