नेपाली बक्सर अन्तर्राष्ट्रिय रिङमा: अष्ट्रेलियामा ‘थन्डरडोम बक्सिङ’ खेल्ने

काठमाडौं ।

अष्ट्रेलियामा आयोजना हुन लागेको प्रतिष्ठित ‘थन्डरडोम बक्सिङ च्याम्पियनसिप’ मा सहभागी हुन तीन नेपाली व्यावसायिक बक्सरले औपचारिक रूपमा सम्झौता गरेका छन्।

प्रतियोगितामा सहभागी हुने खेलाडीहरूलाई शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा विदाई गरिएको हो। कार्यक्रममा नेपाल प्रो बक्सिङ कमिसनका अध्यक्ष राजन प्रजापति, नेपाल बक्सिङ संघका सचिव पुष्कर पुन तथा म्याक्स बक्सिङ प्रमोशनका अध्यक्ष मुक्ति थापा लगायतको उपस्थिति रहेको थियो।

विदाई कार्यक्रममा बोल्दै आयोजकहरूले नेपाली बक्सरहरूको अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिताले नेपालको बक्सिङ खेललाई विश्वस्तरमा चिनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्।

प्रतियोगिताका लागि खेलाडीहरू आगामी मार्च ९ मा अष्ट्रेलिया प्रस्थान गर्ने कार्यक्रम रहेको छ। प्रतियोगितामा सुदूरपश्चिमका अनिल पुन (५१ केजी), विकास राणा (५९ केजी) र महेश बहादुर चन्द (६३ केजी) ले नेपालको प्रतिनिधित्व गर्दै रिङमा प्रतिस्पर्धा गर्नेछन्।

उक्त प्रतियोगिता नेपाली बक्सिङ इतिहासका लागि महत्वपूर्ण अवसर भएको बताउँदै नेपाल प्रो बक्सिङ कमिसनका अध्यक्ष राजन प्रजापति यसले अन्तर्राष्ट्रिय स्तरमा नेपाली खेलाडीहरूको पहिचान स्थापित गर्न सहयोग पुग्ने बताएका छन्। साथै अष्ट्रेलियामा बसोबास गरिरहेका नेपाली समुदायलाई पनि प्रतियोगितामा उपस्थित भई नेपाली खेलाडीलाई उत्साह दिन आग्रह गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!