विश्व मृगौला दिवसः भक्तपुरमा जनचेतनामूलक र्‍यालीसहित विभिन्न कार्यक्रम

भक्तपुर, २८ फागुन २०८२ः
कृष्ण किसी

प्रत्येक वर्ष मार्च महिनाको दोस्रो बिहीबार मनाइने विश्व मृगौला दिवसका अवसरमा भक्तपुरमा जनचेतनामूलक कार्यक्रम आयोजना गरी दिवस मनाइएको छ।

एक अध्ययनअनुसार प्रत्येक १० जनामध्ये १ जनामा मृगौला रोग देखिने गरेको र विश्वभर मृगौला रोगको प्रकोप बढ्दो अवस्थामा रहेकाले रोगको पहिचान, उपचार तथा रोकथामका उपायबारे सर्वसाधारणलाई सचेत गराउने उद्देश्यले दिवस मनाइने गरिएको हो।

यस वर्ष शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरको आयोजनामा बिहान ८ः३० बजे ‘किड्नी वाक’ (मृगौला पदयात्रा) आयोजना गरिएको थियो। धिमे बाजा, ब्यानर र प्लेकार्डसहितको र्‍याली केन्द्रबाट सुरु भई नपुखु–भक्तपुर दरबार स्क्वायर–साकोठा–टौमढी–पोटरी स्क्वायर–नासमना–वंशगोपाल–तेखापुखु–भार्वाचो–भक्तपुर मिनीबस पार्क हुँदै पुनः केन्द्रमा पुगेर समापन भएको थियो।

दिवसको अवसरमा आयोजित औपचारिक कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्री सुधा शर्मा गौतम प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अधिकारी, जिल्ला प्रशासन कार्यालय भक्तपुर का प्रमुख जिल्ला अधिकारी, भक्तपुर अस्पताल, भक्तपुर क्यान्सर अस्पताल लगायत विभिन्न अस्पतालका स्वास्थ्यकर्मी, प्रत्यारोपण क्षेत्रमा कार्यरत विशेषज्ञ, अङ्ग प्रत्यारोपण गराएका बिरामी तथा सर्वसाधारण गरी करिब ६०० जनाको सहभागिता रहेको थियो।

कार्यक्रममा बोल्दै केन्द्रकी कार्यकारी निर्देशक डा. कल्पना कुमारी श्रेष्ठले मृगौला उपचारको क्षेत्रमा केन्द्र देशकै नमुना संस्थाका रूपमा स्थापित भएको बताउनुभयो। उहाँका अनुसार हालसम्म केन्द्रबाट १,५८६ जनाको मृगौला तथा ३६ जनाको कलेजो प्रत्यारोपण गरिएको छ भने दैनिक करिब १५० जनालाई डायलाइसिस सेवा प्रदान गरिँदै आएको छ। केन्द्र साँघुरो स्थानबाट सञ्चालन भइरहेको उल्लेख गर्दै सेवा विस्तारका लागि उपयुक्त जग्गा उपलब्ध गराइदिन सम्बन्धित निकायसँग अनुरोध गर्नुभयो।

मानव अङ्ग प्रत्यारोपण विकास समितिका अध्यक्ष डा. केशर बहादुर ढकालले केन्द्रलाई विशिष्टीकृत स्वास्थ्य संस्थाका रूपमा विस्तार गर्न आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

त्यसैगरी प्रमुख अतिथि मन्त्री गौतमले आफू स्वास्थ्य सचिव रहँदा केन्द्रको परिकल्पना गरिएको स्मरण गर्दै राष्ट्रिय प्रत्यारोपण केन्द्रले सञ्चालन गरिरहेको अभियानको प्रशंसा गर्नुभयो। उहाँले स्वास्थ्य सेवामा सर्वसाधारणको सहज पहुँच सुनिश्चित गर्न केन्द्रका लागि आवश्यक जग्गा उपलब्ध गराउने विषयमा आफू पदमा रहँदा वा नरहँदा पनि पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

कार्यक्रममा सहभागी अन्य वक्ताहरूले यस्ता जनचेतनामूलक कार्यक्रमले मृगौला रोगबारे सर्वसाधारणमा जानकारी फैलाउन महत्वपूर्ण भूमिका खेल्ने बताउँदै आगामी दिनमा पनि केन्द्रको विकास र प्रगतिमा सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए।

अङ्ग प्रत्यारोपण गराएका व्यक्तिहरू पनि अन्य स्वस्थ व्यक्तिसरह सामान्य जीवनयापन गर्न सक्ने सन्देश प्रवाह गर्दै अङ्गदान र अङ्ग प्रत्यारोपण कार्यलाई अझ प्रभावकारी बनाउने उद्देश्यसहित विभिन्न कार्यक्रममार्फत दिवस मनाइएको आयोजकले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!