काठमाडौँ ।
स्वास्थ्य बिमा बोर्डले उपचारका लागि आएका बीमितलाई अस्पताल बाहिरबाट औषधि खरिद गर्न नलगाउन सबै अस्पताल तथा स्वास्थ्य संस्थालाई निर्देशन दिएको छ।
बोर्डका सूचना अधिकारी विकेश मल्लले सबै अस्पताललाई परिपत्र जारी गर्दै बीमितलाई बाहिरका औषधि पसलबाट औषधि तथा औषधिजन्य सामग्री खरिद नगराउन निर्देशन दिइएको जानकारी दिनुभयो। बीमितसँग केही स्वास्थ्य संस्थाले प्याकेजअन्तर्गत गरिने उपचारमा समेत बाहिरबाट औषधि खरिद गराएको गुनासो आएपछि यस्तो निर्देशन जारी गरिएको उहाँले बताउनुभयो।
बोर्डका अनुसार कतिपय अस्पतालले बीमितलाई उपचारपछि बाहिरका औषधि पसलमा गएर औषधि खरिद गर्न लगाउने गरेको पाइएको छ। यसरी बीमितलाई बाहिरबाट औषधि किन्न लगाउने कार्य स्वास्थ्य बिमा कार्यक्रमको मर्म र नियमविपरीत हुने भएकाले त्यस्तो नगर्न अस्पताललाई सचेत गराइएको हो।
अस्पतालहरूले बिमा सेवाअन्तर्गतका विभिन्न प्याकेजमा समावेश हुने औषधि तथा औषधिजन्य सामग्री बिरामीलाई अस्पतालमै उपलब्ध गराउनुपर्ने व्यवस्था रहेको छ। तर केही स्वास्थ्य संस्थाले ती सामग्री अस्पताल बाहिरका औषधि पसलबाट नगदमा खरिद गर्न लगाउने गरेको पाइएको बोर्डले जनाएको छ।
यस्तो कार्य स्वास्थ्य बिमा ऐन २०७५, स्वास्थ्य बिमा नियमावली २०७५ तथा प्रचलित निर्देशिका र कार्यविधिविपरीत हुने भन्दै त्यस्ता अस्पताललाई नियमावली २०७५ को नियम १८ को उपनियम (१) को खण्ड (क) बमोजिम कारबाही गरिने बोर्डले जनाएको छ।
स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत पाँच जनासम्मका परिवारले वार्षिक रु ३ हजार ५०० बराबरको योगदान गरेपछि रु १ लाखसम्मको स्वास्थ्य सेवा सुविधा प्राप्त गर्ने व्यवस्था छ। त्यसैगरी थप प्रत्येक सदस्यका लागि रु ७०० का दरले योगदान रकम थपिँदै जाने र प्रति सदस्य रु २० हजार बराबरको सेवा सुविधा थपिने प्रावधान रहेको छ।