भक्तपुर, २९ फागुन २०८२ः
कृष्ण किसी
भक्तपुर घरेलु तथा साना उद्योग संघ, भक्तपुर पर्यटन विकास समिति र ‘गो लोकल’ को संयुक्त आयोजनामा “परम्परागत औद्योगिक सम्पदा” सम्बन्धी अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा भक्तपुर घरेलु तथा साना उद्योग संघका अध्यक्ष श्यामसुन्दर श्रेष्ठले ‘गो लोकल’ अभियानअन्तर्गत भक्तपुरका मौलिक उत्पादन र सीपलाई सम्पदाका रूपमा संरक्षण गर्दै पर्यटनसँग जोड्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो।
कार्यक्रमका सहजकर्ता तथा ‘गो लोकल’ कार्यक्रमका सह–संयोजक रामसुन्दर भेलेले विभिन्न क्षेत्रका सम्पदाबारे जानकारी दिँदै भक्तपुरको मौलिक पहिचान र यसको संरक्षणका चुनौतीहरूबारे धारणा राख्नुभयो। उहाँले ‘गो लोकल’ अन्तर्गत परम्परागत औद्योगिक सम्पदा (Traditional Industrial Heritage) को अवधारणाबारे कार्यपत्र प्रस्तुत गर्दै भक्तपुरको सन्दर्भमा यसको महत्त्वमाथि प्रकाश पार्नुभयो।
उद्यमी तथा ‘गो लोकल’ का संयोजक बिरेन्द्र जतिले भक्तपुरको प्रसिद्ध ताइचिन चिउराको सांस्कृतिक र ऐतिहासिक पक्षबारे जानकारी दिँदै यसलाई सांस्कृतिक सम्पदाका रूपमा संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले मठ–मन्दिर, पाटी–पौवा मात्र नभई स्थानीय चाडपर्व र रीतिरिवाजसँग सम्बन्धित वस्तु उत्पादन गर्ने उद्योगहरूलाई पनि सम्पदाका रूपमा विकास गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो।
त्यसैगरी ‘गो लोकल’ का सदस्य प्रेम खर्बुजाले नेपाली समाजमा चामलको सांस्कृतिक महत्त्व र यससँग जोडिएका परम्पराहरूबारे चर्चा गर्दै विगतमा भक्तपुरमा सयौं चामल मिल सञ्चालनमा रहेको उल्लेख गर्नुभयो। हाल भने केही संख्यामा मात्र सञ्चालनमा रहेको बताउँदै नयाँ पुस्तालाई सम्पदा र संस्कृतिको महत्त्वबारे जानकारी नदिइए उद्योगसँगै संस्कृति पनि लोप हुने खतरा रहेको उहाँले बताउनुभयो।
जुजु धौ व्यवसायी रमिला दुवालले घरेलु उद्योगहरू प्रविधिमैत्री बन्दै गएको अवस्थामा पनि परम्परागत शैलीलाई जोगाएर अघि बढ्न सके यस्ता उद्योगको महत्त्व अझ बढ्ने बताउनुभयो।
स्टोरी साइकलका सौरभ ढकालले हाल सञ्चालनमा रहेका परम्परागत उद्योगहरूको डिजिटल म्यापिङ गर्नुपर्ने र उत्पादनदेखि उपभोगसम्मको ‘जीवनचक्र’ (Life Cycle) अध्ययन गर्नुपर्ने सुझाव दिनुभयो। साथै स्थानीय कच्चा पदार्थको प्रयोगले उद्योगबाट हुने कार्बन उत्सर्जनसमेत कम गर्न सकिने उहाँले बताउनुभयो।
नेपाल पर्यटन बोर्डका सुधन सुवेदीले अनुभव गर्न सकिने अभौतिक सम्पदालाई कथा (Storytelling) मार्फत प्रस्तुत गर्दा पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुग्ने धारणा राख्नुभयो।
उद्योग तथा वाणिज्य कार्यालयका कार्यालय प्रमुख रामप्रसाद कुस्माले परम्परागत उद्योगलाई सम्पदाको रूपमा विकास गर्न स्पष्ट नीति आवश्यक रहेको उल्लेख गर्दै यसका लागि स्थानीय, प्रदेश र संघीय सरकारलाई रचनात्मक सुझाव दिँदै आवश्यक ऐन–नियम बनाउन दबाब दिनुपर्नेमा जोड दिनुभयो।
कार्यक्रममा भक्तपुर घरेलु तथा साना उद्योग संघले ‘गो लोकल’ अन्तर्गतका उत्पादनहरूलाई एकै स्थानमा प्रदर्शन गर्न सके आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न सकिने सुझावसमेत दिएको थियो। साथै भक्तपुरका मौलिक उत्पादनबारे पर्यटन क्षेत्रमा कार्यरत संस्थाहरूलाई नै पर्याप्त जानकारी नभएकाले परम्परागत उद्योगहरूमा पर्यटक आगमन कम भएको बताइएको छ।
कार्यक्रममा पत्रकार कृष्ण किसी, संघका पूर्व अध्यक्ष रामसुन्दर खाताखो, उपाध्यक्ष हरिगोपाल त्वायना, सचिव श्रीजना कक्षपति, सदस्य सुस्मा श्रेष्ठ, सदस्य आकाश बादे तथा भक्तपुर पर्यटन विकास समितिका अध्यक्ष दिपेश शर्मालगायतले ‘गो लोकल’ अन्तर्गतको परम्परागत औद्योगिक सम्पदा अभियान उदाहरणीय पहल हुने विश्वास व्यक्त गर्नुभयो।