काठमाडौं, १ चैत्र २०८२ः
पशु सेवा विभागले कुखुरा लगायतका पन्छीमा देखिने लो प्याथोजेनिक एभियन इन्फ्लुएन्जा (सबटाइप H9) संक्रमण रोकथामका लागि किसान तथा व्यवसायीलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको विभागले आज एक सूचना जारी गर्दै उक्त रोग कुखुरा र विभिन्न पन्छीमा देखिने संक्रामक रोग भएको जनाएको छ। विभागका अनुसार संक्रमित पन्छीसँग प्रत्यक्ष सम्पर्क, संक्रमित दाना तथा कुखुरा ओसारपसार गर्ने सवारी साधन र अन्य सामग्रीमार्फत रोग सजिलै फैलिन सक्ने खतरा रहन्छ।
नेपालका विभिन्न स्थानका व्यावसायिक तथा घरपालुवा कुखुरा फार्महरूमा लो प्याथोजेनिक एभियन इन्फ्लुएन्जा संक्रमणका कारण कुखुरा मर्ने र संक्रमण फैलिने जोखिम बढेकोले यसलाई ध्यानमा राख्दै रोगको रोकथाम र नियन्त्रणका लागि विभिन्न सावधानी अपनाउन विभागले आग्रह गरेको हो।
विभागले कुखुरा फार्ममा अनावश्यक व्यक्ति तथा सवारी साधन प्रवेश गर्न नदिन, फार्ममा प्रवेश गर्ने सवारी साधनलाई अनिवार्य रूपमा निसंक्रमण गरेर मात्र प्रवेश गराउन तथा कुखुरा ढुवानी गर्ने सवारीलाई कुखुरा अनलोड गरेपछि राम्रोसँग सफाइ र निसंक्रमण गर्न सुझाव दिएको छ।
त्यस्तै, फार्मको प्रवेशद्वारमा निसंक्रमक औषधि राखिएको फुटबाथ प्रयोग गर्न, फार्मभित्र छुट्टै बुट र एप्रोन प्रयोग गर्न, फार्म परिसरमा कुकुर, बिरालो तथा मुसा लगायत अन्य जनावर प्रवेश हुन नदिन र मरेका कुखुरालाई सुरक्षित रूपमा गाडेर व्यवस्थापन गर्न पनि विभागले आग्रह गरेको छ।
विभागका अनुसार रोग सर्न सक्ने जोखिमलाई ध्यानमा राख्दै एउटै व्यक्तिले धेरै फार्ममा काम नगर्नु, प्रयोग भइसकेका कागजका अण्डा ट्रे पुनः प्रयोग नगर्नु तथा रोगविरुद्ध गुणस्तरीय खोप प्रयोग गर्नु आवश्यक छ।
साथै अचानक ठूलो संख्यामा कुखुरा बिरामी पर्ने वा मर्ने अवस्था देखिएमा तत्काल नजिकको पशु सेवा निकायमा जानकारी गराउन विभागले किसानलाई आग्रह गरेको छ।
